नयाँ वर्षको अवसर पारेर एकसाथ युट्युबमा तिन नेपाली चलचित्र सार्वजनिक भए । जसमा जेठमा रिलिज भएको ‘पर्व’, असारमा रिलिज भएको ‘कारखाना’ र मङ्सिरमा रिलिज भएको ‘पुरानो ढुङ्गा’ रहेको छ । हलमा खासै तहल्का मच्चाउन नसकेको तिन वटा चलचित्रलाई यति बेला दर्शकले युट्युबमा भने निकै रुचाएका छन् । यति बेला युट्युबको ट्रेडिङ १ देखि ४ सम्म कारखाना, पुरानो ढुङ्गा, पर्व र रानी रहेको छ । 
 

युट्युब ट्रेडिङमा ४ नेपाली फिल्म,कुन हेर्ने? 

ट्रेडिङ नम्बर १ मा रहेको चलचित्र ‘कारखाना’लाई यो समाचार बनाउँदा सम्म ७ लाख ६५ हजार माथिले हेरिसकेका छन् । अमरदिप सापकोटाको लेखन र निर्देशन रहेको चलचित्रमा वर्षा सिवाकोटी र सुशील श्रेष्ठको अभिनय रहेको छ । चलचित्रमा अधिकांश प्रतिक्रियामा नायिका वर्षा सिवाकोटीको अभिनयले तारिफ पाइरहेको छ ।

 

ट्रेडिङ  नम्बर २मा रामबाबु गुरुङको निर्देशन रहेको ‘पुरानो ढुङ्गा’ रहेको छ । चलचित्रको ‘निर जहिले रिसाउने’ गीत निकै चर्चित रहेको थियो । युट्युबमा चलचित्रलाई १० लाख ५० हजार बढीले हेरिसकेका छन् । २५ सय बढी प्रतिक्रियामा अधिंकास कमेन्टमा नायिका मेनुका प्रधानको तारिफ गरिएको छ । 

ट्रेडिङ  नम्बर ३ मा दिनेश राउत निर्देशित ‘पर्व’ रहेको छ । सस्पेन्स थ्रिलर कथामा तयार भएको यो चलचित्र नम्रता श्रेष्ठ, कोसिस क्षेत्री, माला लिम्बु, जेबिका कार्कीको मुख्य भूमिका छ ।चलचित्रमा समावेश ‘काले दाइ काले दाइ’ बोलको गीतले हंगामा मच्चाएको थियो । चलचित्रलाई निर्माता सुवास गिरीले निर्माण गरेका हुन् । चलचित्रलाई ३ लाख बढीले हेरेका छन् ।

ट्रेडिङ ४ मा हप्ता दिन अघि रिलिज भएको ‘रानी’ रहेको छ । यही वर्ष कात्तिक २ गतेबाट प्रदर्शनमा आएको रानीले हलमा पानी पनि भन्न पाएको थिए । त्रिकाणात्मक प्रेम कथामा आधारित चलचित्रमा सरुक ताम्राकार, मनिष सुन्दर श्रेष्ठ मुख्य भूमिका रहेको छ। चलचित्रलाई दयाराम  दाहालले निर्देशन गरेका हुन् भने यम थापाको कथा रहेको छ । बिमल मान गुभाजुले निर्माण रहेको चलचित्र पछिल्लो समय युट्युबमा चर्चित बनिरहेको छ । चलचित्रलाई हाल सम्म १३ लाख बढीले हेरिसकेका छन् ।