चलचित्र ‘सयकडा दश’को छायाङ्कन सुरु भएकाे छ । चर्चित हास्यँकलाकार मनोज गजुरेलको मुख्य भूमिका रहेको चलचित्रको सोमबारदेखि काठमाडौँमा छायाङ्कन सुरु भएको हो । बौद्ध नयाँबस्तीस्थित सर्वेश्वर महादेव मन्दिरमा पहिलो दिनको दृश्यांश खिचियो ।यसै चलचित्रबाट कलाकार मनोज गजुरेल पहिलो पटक सिनेमामा काम गर्दै छन् । कलाकारता राजाराम पौडेलले माला लगाएर गजुरेललाई चलचित्र क्षेत्रमा स्वागत गरेका थिए । ‘डेब्युका लागि उपयुक्त चलचित्रको पर्खाइमा थिएँ’ गजुरेलले भने, ‘म कमेडी विधाकै भए पनि मेरो विचारमा चलचित्रको भूमिका सामाजिक उत्तरदायित्व पनि हुनुपर्छ भन्ने हो । सयकडा दश यी दुईको उपयुक्त मिश्रण हो मेरा लागि ।’ प्रेमगीत २ निर्देशक रामशरण पाठकको निर्देशनमा बन्न लागेको चलचित्रले सामाजिक कथालाई प्रस्तुत गर्नेछ । चलचित्रमा अमृत ढुंगाना, नव नायिका करुणा श्रेष्ठ जोडीको रूपमा देखिने भएका छन् । त्यस्तै रवि डंगोल, रश्मि भट्ट, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, कुमार कार्की, प्रसिद्ध थापा र मानस्वी निरौला लगायतका कलाकारको चलचित्रमा मुख्य भूमिका रहने छ । चलचित्रमा रामेश्वर कार्कीको छायाङ्कन, बनिश शाहको सम्पादन, दिलीप ओखेडाको नृत्य निर्देशन, कल्याण सिंहको सङ्गीत छ । युट्युव स्टार गायक स्वप्न सुमनले पाश्र्वगायनमा त्रिशाला गुरुङ र सन्देश पाठकसँग टीमअप गर्दै छन् । दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा बन्न लागेको चलचित्रलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गर्न लागेका हुन् । काठमाडौँ र पोखरामा छायाङ्कन गरिने चलचित्रको सेड्युल झन्डै एक महिनाको हुने जानकारी निर्देशक पाठकले दिए ।