सञ्चारकर्मीले पेशागत मर्यादा बढाउन पत्रकार आचारसंहिता पालनामा जोड दिएका छन् । चलचित्र पत्रकार संघको आयोजनामा भएको एक दिने कार्यशाला गोष्ठीमा सहभागीहरुले विश्वसनीयता बढाउन संहितामा जोड दिएका हुन् ।
काठमाडौंमा भएको कार्यक्रममा कला क्षेत्रको समाचार सम्प्रेषणमा संलग्न एक सय १० जना सञ्चारकर्मी सहभागी थिए । अनलाइन पत्रकार संघका संस्थापक अध्यक्ष केपी ढुंगानाले सहभागीहरुलाई अनलाइन पत्रकारिता र आचारसंहिताबारे प्रशिक्षण दिएका थिए भने फोटो पत्रकार संघका अध्यक्ष विकास कार्कीले फोटो पत्रकारितासम्बन्धी प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा पत्रकार आचारसंहिता, अनलाइन पत्रकारिताको विकास र वर्तमान अवस्था, प्रेस कानुन र विद्युतीय कारोबार ऐन, बढ्दो युट्युबकारिता, त्यसको प्रभाव र चुनौती, फोटो खिच्ने कला र कपिराइट कानुन लगायतका विषयमा छलफल भएको थियो । 
अनलाइन सञ्चारमाध्यम र सञ्चारकर्मीको संख्यामा उल्लेख्य वृद्धि भए पनि समाचार प्रस्तुति र गुणस्तर सोही रुपमा विश्वसनीय हुन नसकेको टिप्पणी गर्दै ढुंगानाले संहिताको पालनामा जोड दिएका थिए ।
‘पेशाको मर्यादा राखे मात्र पेशामा संलग्नको पनि मर्यादा रहने हो,’ शुक्रवार साप्ताहिकमा नवनियुक्त सम्पादक ढुंगानाले भने, ‘अनधिकृतरुपमा समाचार, तस्बिर, भिजुअल कपी गरेर प्रकाशन–प्रशारण गर्ने र विज्ञापनलाई समाचारको रुपमा प्रस्तुत गर्ने शैलीबाट सञ्चारकर्मी जोगिनुपर्छ ।’
संहिताको बेवास्ता गर्दा विद्युतीय कारोबार ऐन, गाली बेइज्जती ऐन लगायतका कानुनअनुसार सजायको भागिदार बन्नुपर्ने उल्लेख गर्दै उनले ‘कानुनको अज्ञानता क्षमा नहुने’ भएकाले दुर्घटनाबाट जोगिन पनि संहिताको विशेष ख्याल गर्न आग्रह गरेका थिए । 
कार्यक्रमका अर्का प्रशिक्षक विकास कार्कीले फोटो र दृश्य खिच्दा अपनाउनुपर्ने सावधानी नअपनाउँदा पत्रकारिताकै खिल्ली उड्ने गरेको भन्दै कुन अवस्थामा कसरी तस्बिर र दृश्य खिच्नेबारे जानकारी गराएका थिए ।
चार घण्टासम्म चलेको कार्यशालामा करिब १ सय १० जना संचारकर्मी सहभागी थिए । कार्यक्रममा उनीहरुलाई प्रमाणपत्रको समेत व्यवस्था गरिएको थियो ।