पछिल्लो समय नेपाली चलचित्रले प्रचारमा नयाँ–नयाँ तरिका अपनाउने गरेका छन् । चलचित्र ‘ह्याप्पी डेज’ले नयाँ तरिका अपनाएको छ । यो टिमले आफ्नो चलचित्रका कलाकारलाई रथमा राखेर सोमबार काठमाडौँ घुमाएको छ । हेर्नुस् भिडियो :
 

चलचित्रको हाइप सिर्जना गर्नको लागी कलाकार सहितको टिम सोमबार बिहान ११ बजेबाट ललितपुर र काठमाडौँमा विभिन्न स्थानमा रथ लिएर पुगेका थिए । लगनखेलबाट सुरु हुने रथ यात्रा थापाथली, त्रिपुरेश्वर, दरबारमार्ग, पुतलीसडक हुँदै भृकुटीमण्डपमा पुगेर प्रेसमिटमा परिणत भएको थियो । रथमा अभिनेत्री प्रियंका कार्की र अभिनेता सञ्जय गुप्ता सवार रहेको थियो । अभिनेता दयाहाङ राई चलचित्र छायाङ्कनको कारण उपस्थित हुन सकेनन् । ‘पहिलो पटक यसरी प्रमोसन गर्दै छौ । अनौठोको साथै रमाइलो लागिरहेको छ । ’ प्रियंका सुनाउँछिन् । त्यस्तै नायक सञ्जयको यो दोस्रो चलचित्र हो । ट्रेलरको साथै गीतले पाएको प्रतिक्रियाले उत्साहित रहेको सञ्जय बताउँछन् ।

प्रियंका र सञ्जयको साथमा ‘ह्याप्पी डेज’को रथयात्रा (भिडियो)

ह्याप्पी डेजलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । उनी निर्देशित ‘लिलीबिली’ यति बेला सफलताको साथ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आइको ब्यानरमा निर्मित चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की,  सञ्जय गुप्ता, दिया पुन, विककी जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स र जेन बकल अभिनय रहेको छ ।साढे २ करोडको बजेटमा निर्माण भएको चलचित्रमा बिपी खनाल, भवानी शर्मा, हिराल जोशी, मिलन चाम्स र डा. अशोक खनाल निर्माताका रूपमा रहेका छन् ।