रंगमञ्च हुँदै पछिल्लो समय चलचित्रमा सक्रिय रहेका कलाकार हुन् खगेन्द्र लामिछाने । अब्बल अभिनयको कारण दर्शकको मनमा बस्न सफल खगेन्द्रले ‘बधशाला’बाट सिनेमा नगरीमा डेव्यु गरेका हुन् । त्यसलगत्तै उनले टलकजंग भर्सेस टुल्के’, ‘पशुपति प्रसाद’ , ‘धनपति’मा काम गरिसकेका छन् । चलचित्र ‘पशुपति प्रसाद’बाट खगेन्द्र अझ बढी चर्चामा आएका थिए । हाल उनी आफू अभिनित चलचित्र डमरुको डण्डिबियोको प्रमोसनमा व्यस्त छन् । प्रमोसनको क्रममा मङ्गलवार राजधानीमा चलचित्रका कलाकारसँग पत्रकारको अन्तरक्रिया राखिएको थियो ।

चलचित्र डमरुको डण्डिबियोको बारेमा खगेन्द्र भन्छन् ‘गत वर्ष सम्म डण्डिबियो राष्ट्रिय खेल थियो । तर अहिले छैन । डण्डिबियो खेल पछिल्लो समय लोप भइसकेको र नेपालको मौलिख खेल हो । डण्डिबियोको विषयवस्तुले मलाई आर्कषित गरेको थियो ।त्यसपछि हामीले आपसी समझद्धारीमा काम सुरु गरेको थियो । हामीले धेरै समयसम्म अनुसन्धान गरेर कथा तयार पार्‍यो ।’ चलचित्र प्रति आशावादी रहेको खगेन्द्र थप्छन् ‘विगतमा चलचित्रका मैले सामाजिक विषयवस्तुमा केन्द्रित भएर काम गरेको थिए । अलि दुखी मान्छेको कथामा आफूलाई प्रस्तुत गरेको थिए । तर यसमा एक खेलाडीको रूपमा देखिएको छु । सायदै ५ वर्षको अभिनय यात्रामा पहिलो पटक फरक भूमिकामा गरेको छु । ’ जीवन्त अभिनयले धेरैको मन जित्न सफल भएका खगेन्द्र कुनै पनि अवार्ड समारोहमा खासै जाँदैनन् । उनलाई पछिल्लो समय नेपालको आमिर खान भन्ने गरिएको छ । बलिउड अभिनेता आमिर खानले भारतमा आयोजना हुने अवार्डमा सहभागी हुँदैनन् । खगेन्द्रलाई आमिर खान भनेर सोधिएको प्रश्नमा भन्छन् ‘मलाई खगेन्द्र लामिछाने भनेर नै चिन्नुहुन्छ र चिनिएको पनि छु। तर दर्शकले माया गरेर कुनै अब्बल कलाकारसँग तुलना गर्नु हुन्छ भने खुसी लाग्छ । ’ अवार्ड किन अस्विाकार गर्नु हुन्छ ?भन्ने प्रश्नमा खगेन्द्र यस्तो जवाफ दिन्छन् ‘काठमाडौँमा लेखकको रूपमा स्थापित हुन आएको थियो । कलाकार बन्छु भनेर सपनामा पनि सोचेको थिइन् तर आज कलाकारको रूपमा चिनिएको छु । मेरो लागी अभिनय गर्नु बोनस हो । म अहिले यही बोनसमा खुसी छु र मेरो परिवार पनि यसैमा रमाइरहेको छ । मेरोलाई यही खुसी बढी छ भने अवार्ड पाएर बोनसमा बोनस थप्न चाहान्न । बरु अवार्ड अरूले पाएर अरू खुसी हुन्छन् भने त्यो ठुलो हो । ’ 
चलचित्र डमरुको डण्डीबियोलाई छेतेन गुरुङले निर्देशन गरेका हुन् भने चलचित्रमा खगेन्द्रको साथमा अनुप बराल, मेनुका प्रधान, बुद्धि तामाङ, आशान्त शर्मा लगायतका कलाकारको अभिनय रहेको छ ।  चलचित्र वैशाख २१ गतेबाट रिलिज हुँदैछ।