चलचित्र ‘ए मेरो हजुर २’बाट सिने नगरीमा प्रवेश गरेका नायक हुन् सलिनमान बनियाँ । झरना थापाको निर्देशन र सुनिलकुमार थापाको निर्माणमा बनेको चलचित्रमा सलिन र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहेको थियो ।
चलचित्रमा सलिन र साम्राज्ञीको जोडीलाई दर्शकले निकै रुचाए । पहिलो चलचित्रबाट नै सलिनले वाहवाही बटुल्न पनि सफल रहे । उनको चकलेटी फेस, स्टाइललाई फलो गर्ने जमात बढ्दो छ । ए मेरो हजुर २ रिलिज भएसँगै सलिनले कुनै चलचित्र साइन गरेनन् । यस बिचमा उनले ‘ए मेरो हजुर ३’मा काम गर्ने समेत समाचार बाहिरिएको थियो । यता निर्माता सुनिल कुमार थापाले फेसबुकमा सलिनको फोटो सार्वजनिक गर्दै ए मेरो हजुर ३ को तयारी लेखेका थिए । तर केही दिन अघिमात्र अभिनेत्री झरना थापाले मिडियामा सलिन र साम्राज्ञी नहुने भन्दै अन्तरवार्ता दिएकी थिइन् । हालै सलिन नयाँ चलचित्र ‘यात्रा’मा अनुबन्धित भएका छन् । सोही चलचित्रको घोषणा कार्यक्रममा सलिनलाई ‘ए मेरो हजुर ३’को विषयमा प्रश्न गरिएको थियो । कार्यक्रममा सलिनले अफर आए उक्त चलचित्र गर्ने बताएका छन् । ‘सुनिल थापा दाइसँग सामान्य भेटघाटमात्र भएको थियो । यदि अफर आएको खण्डमा ‘ए मेरो हजुर ३’ गर्न तयार छु । ’