अाज वैशाख १४ गते शुक्रवार कुनै चलचित्र हेर्ने योजना बनाउँदै हुनुहुन्छ भने आजबाट सिनेमा घरमा दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । जसमा विशाल भण्डारी निर्देशित ‘कोहलपुर एक्सप्रेस’ र मिलन चाम्स निर्देशित ‘ह्याप्पी डेज’ रहेको छ ।

 

चलचित्र कोहलपुर एक्सप्रेसलाई अभिनेत्री केकी अधिकारीले निर्माण गरेकी हुन् । चलचित्रमा उनको मुख्य भूमिका रहेको छ । केकीसँगै चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, बुद्धि तामाङ, रविन्द्र झा, विनोद न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ । कमेडी जनरामा बनेको चलचित्रको ट्रेलरले निकै चर्चा पाएको छ भने चलचित्रमा समावेश ‘काउ ’ गीत हिट बनिसकेको छ ।

त्यस्तै लामो समय देखि प्रदर्शन मिति सार्दै आइरहेको चलचित्र ‘ह्याप्पी डेज’ पनि आजबाट प्रदर्शन भएको छ। चलचित्रमा अभिनेता दयाहाङ राई, प्रियंका कार्की, सञ्जय गुप्ता लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रमा बिपी खनाल,भवानी शर्मा, हिराले जोशी र मिलन चाम्स निर्माताको रूपमा रहेका छन्।

यी दुई चलचित्र सँगै मल्टीप्लेक्समा चैत्र ९ गते रिलिज भएको चलचित्र शत्रुगते र चैत्र ३० गतेबाट रिलिज भएको चलचित्र ‘लिलीबिली’ पनि मल्टिप्लेक्समा राम्रो शोज पाएको छ बिशेषत शत्रुगतेले अन्य चलचित्रको व्यापारमा गतिलो असर पारिरहेको छ।