चलचित्र ’हैरान’ टिमले प्रतिभाको खोजी गर्ने भएको छ । हैरान च्यालेन्ज अन्तर्गत निर्माण टिमले ’राष्ट्रिय प्रतिभाको खोजी’ गर्ने भएको छ । नृत्य , अभिनय र गायन विधामा हैरान टिमले प्रतिभाको खोजी वैशाख २० गते झापाबाट अडिसन सुरु गर्ने भएको छ । प्रतिभालाई प्रोत्साहन गर्ने गरी देशको विभिन्न स्थानमा राष्ट्रिय प्रतिभाको खोजी अभियान सुरु गर्न लागिएको निर्माण पक्षले जनाएको छ । 
२० गते झापाको बिर्तामोडबाट सुरु गरिने अडिसन २१ गते विराटनगर ,२२ गते हेटौंडा, २३ गते चितवन, २४ गते बुटवल, २५ गते नेपालगञ्ज, २६ गते दाङ , २७ गते पोखरा तथा २८ र २९ गते काठमाण्डौंमा हुनेछ । अडिसनमा ८ देखि २५ वर्ष उमेरका प्रतिभाहरूले सहभागिता जनाउन सक्नेछन् । तिनै विधाका विजेतालाई जनही १ लाख नगद र डान्स फिवर मार्फत निर्माण हुने चलचित्र तथा म्युजिक भिडियोमा अवसर दिइने छ । साथै टप १५ मा पर्ने सम्पूर्णलाई जनही १० हजार नगद प्रदान गरिने समेत हैरान टिमले जनाएका छन् । 
छनौट चरणमा प्रतियोगिले एउटा हैरानकै र अर्को आफूले नै छनौट गरेको गीतमा २ मिनेटमा आफ्नो प्रस्तुति दिनु पर्नेछ । प्रतियोगिताका निर्णायकको रूपमा चलचित्र हैरानका कलाकार निश्मा घिमिरे, गायक स्वरुपराज आचार्य, कलाकार निर्मल शर्मा, गायक सत्यराज आचार्य र नृत्य निर्देशक गम्भीर विष्ट रहनेछन् । जेठ ४ मा रिलिज हुने चलचित्र ’हैरान’ लाई विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेका छन् ।