अभिनेत्री केकी अधिकारीको निर्माण र अभिनय रहेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ गत शुक्रवारबाट सिनेमाघरमा प्रदर्शन भइरहेको छ । प्रदर्शन भएको पाँचौँ दिन सम्मपनि काठमाडौँका अधिकांश मप्लिटप्लेक्सहरु हाउसफुल थिए ।हलिउडको प्रतिक्षित चलचित्र ‘एभर्जस’ रिलिज भएपछि कम सो पाएको चलचित्रलाई बिशेषत सोमबार र मंगलबारको बिदाले ठुलो राहत दिएको थियो ।
मङ्गलवार सिनेपाटी टिम कमलपोखरी स्थित बिग मुभिज र दरबारमार्ग स्थित जय नेपाल हलमा पुग्दा त्यहाँ दर्शकको बाक्लो उपस्थिति रहेको थियो । काठमाडौँमा सन्तोषजनक व्यापार गरिरहेको कोहलपुर एक्सप्रेसलाई लिएर केकी दङ्ग छिन् । ‘दर्शकहरूले राम्रो प्रतिक्रिया दिइराख्नु भएको छ । केही सो अझै थपिएको छ । कम सोको बाबजुद पनि यतिधेरै माया दिनु भएको छ, निकै खुसी छु । वर्ड अफ माउथ राम्रो भएकाले पनि दर्शकको सङ्ख्या बाक्लिएको छ। ’ केकी भन्छिन् । चलचित्र रिलिज भएको पाँचौँ दिन नायिका वर्षा राउत, निर्देशक तथा अभिनेत्री दिपाश्री निरौला र गायक प्रमोद खरेल चलचित्र हेर्न पुगेका थिए ।
चलचित्र हेरिसके पश्चात् केकीको अभिनय र चलचित्रको क्लाइमेक्स मन परेको वर्षा बताउँछिन् । त्यस्तै दिपाश्री निरौलाले चलचित्र हेरिसके पश्चात् केही सुझाव दिँदै निकै तारिफ गरिन् । ‘चलचित्र हेरिरहुञ्जेल रमाइलो छ । केही सुधार गर्न सकिने दृश्य छ तर समग्रमा सिनेमाले धेरै हसाउछ । ’ दिपाश्री भन्छिन् । यता गायक प्रमोद खरेलले निर्मात्री बनेकी केकीको तारिफ गरेका थिए । सीमित स्थान, सीमित पहिरनमा चलचित्र निकै रमाइलो बनेको उनले बताए । कोहलपुर एक्सप्रेसलाई विशाल भण्डारीले निर्देशन गरेका हुन् । चलचित्रमा केकीसँगै प्रियंका कार्की, विनोद न्यौपाने, ऋचा शर्मा, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।