चलचित्र ‘प्रेमगीत’बाट चर्चामा आएका नायक हुन् प्रदीप खड्का । उनले इस्कोप नामक चलचित्रबाट सिनेनगरीमा डेव्यु गरेता पनि पहिलो चलचित्र सफल हुन सकेन । तर दोस्रो चलचित्र ‘प्रेमगीत’ प्रदीपको लागी ट्रनिङ पोइन्ट नै भइदियो। चलचित्रमा उनको अपोजिट पूजा शर्मा थिइन् । यी दुई जोडीलाई दर्शकले निकै रुचाए । तर पहिलो सिनेमा हिट भएलगतै दुवैको बोलचाल बन्द भयो । प्रेमगीतका निर्माता र निर्देशक छुटिए ।

 

प्रेमगीत निर्माता सन्तोष सेनले प्रदीपलाई लिएर ‘प्रेमगीत २’ निर्माण गरे । यता निर्देशक सुदर्शन थापाले पूजालाई लिएर म यस्तो गीत गाउँछु बनाए । यो दुई चलचित्र गत वर्ष एक महिनाको अन्तरालमा रिलिज भएको थियो । दुवै हिट पनि भए । तर नायक प्रदीप खड्कालाई भने ‘प्रेमगीत’ र ‘प्रेमगीत २’ ब्यानरबाट मात्र हिट भएको नायक भन्ने आरोप लागेको थियो । सोही कारण प्रदीपले चलचित्र ‘लिलीबिली’लाई आफ्नो डेव्यु चलचित्रको रूपमा लिएका थिए । उनले प्रमोसनको क्रममा आफूले काम गर्ने हरेक चलचित्र डेव्यु चलचित्र भएको बताउँछन् ।

लिलीबिली २०७४ को अन्त्यमा रिलिज भएको थियो । मल्टिप्लेक्समा यो चलचित्रले अझै १–२ सो पाइरहेको छ । व्यावसायिक हिसाबले ‘लिलीबिली’ले औसत कमाई गरेको छ । तर समिक्षकरुपमा चलचित्रले मिश्रित प्रतिक्रिया पाएको थियो । यता यही चलचित्रबाट डेव्यु गरेकी नायिका जसिता गुरुङको अभिनयले वाहवाही पायो भने नायक प्रदीप खड्काको अभिनयले जस पाउन सकेन । आशा अनुसारको कमाई नगरेको लिलीबिलीले जेनतेन कमाई भने गरेको छ । व्यावसायिक हिसाबले हेर्ने हो भने प्रदीपको यो तेस्रो सफल चलचित्र हो । जसलाई ह्याट्रिक हिट मान्न सकिन्छ । तर एकैप्रकारको भूमिकामा पनि प्रदीपले ह्याट्रिक नै मारेका छन् ।