म्युजिक भिडियोबाट चर्चामा आएका मोडल निराजन प्रधानको नयाँ चलचित्रको निर्माण घोषणा गरिएको छ । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा चलचित्र ‘प्रेमालय’को अफिसियल घोषणा गरिएको थियो । उक्त चलचित्रमा निराजनको अपोजिट नायिका मरिष्का पोखरेल हुनेछिन् । कुमार शाहले निर्देशन गर्ने ‘प्रेमालय’मा निराजन प्रधान, मरिश्का पोखरेल, सन्नी ढकाल, डा. सूर्या थापा, रविन्द्र झा, दालमन पुन लगायतका कलाकारको अभिनय रहनेछ । प्रेमालयको घोषणासँगै अर्को चलचित्र ‘रुमानी’को पनि औपचारिक घोषणा गरिएको छ ।

मरिष्का र निराजनको जोडीमा ‘प्रेमालय’ घोषणा

दुई निर्देशकको निर्देशनमा बन्ने दुई चलचित्रको एकै प्रेसमिटमा अफिसियल घोषणा गरिएको हो । रुमानीलाई मनोज अधिकारीले निर्देशन गर्दै छन् । चलचित्रमा कलाकारको रूपमा हालसम्म सन्नी ढकालमात्र तय भइसकेका छन् । छिट्टै नै पुरा टिमअप गरेर ‘रुमानी’को छायाङ्कन थाल्ने निर्देशक अधिकारीले जानकारी दिए । 
नेपाल अस्ट्रेलियामा छायाङ्कन हुने दुवै चलचित्र मध्ये ‘प्रेमालय’को नेपाल छायाङ्कन आगामी सातादेखि सुरु हुनेछ । भने अस्ट्रेलिया छायाङ्कनको लागि असार पहिलो सातादेखिको सेड्युल राखिएको छ । दुवै चलचित्रको छायाङ्कन दशैँ अगाडी नै सक्ने निर्माण पक्षको योजना छ ।प्रेमकथामा बन्ने ‘प्रेमालय’मा पहिलो पटक तेल भिसा (विदेशमा बस्ने छोरा(बुहारीको बच्चा स्याहार्न बाबु(आमालाई घुम्नको लागि भन्दै केही महिनाको लागि विदेश बोलाउने प्रचलन)को कथालाई पनि प्रस्तुत गरिनेछ । त्यस्तै विदेश गएकी पत्नीले आफ्नो पति अर्कैसँग प्रेममा पर्दा पाएको पिडा र पतिलाई पुनः आफ्नो प्रेममा पार्न गरेको सङ्घर्षको कथा ‘रुमानी’मा रहेको छ ।एसके स्क्वाएर प्रोडक्सन र ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा बन्ने ‘प्रेमालय’मा कार्यकारी निर्माताको रूपमा मनोज अधिकारी, किरण माइकल र ऋषिकेश गिरी छन् । त्यस्तै निर्मातामा सुभाष श्रेष्ठ, सहनिर्मातामा सुक बहादुर कामी, थुम प्रसाद छन्त्याल र शेर बहादुर रोका क्षेत्री रहेका छन् ।किरण माइकलको लेखन रहेको ‘प्रेमालय’मा राजनराज सिवाकोटीरकल्याण सिंहको सङ्गीत र रोहा शर्माको छायाङ्कन रहनेछ ।