गत वर्ष नै प्रदर्शन हुने भनिएको चलचित्र ‘हिरो रिटर्न्स’ले फेरि रिलिज पोष्टपोण्ड गरेको छ । यस अघि वैशाख २८ गते प्रदर्शन हुने भनिएको चलचित्र अब रिलिज नहुने भएको छ । निर्माता भीम न्यौपानेकै लगानीमा बनेको अर्को चलचित्र ’सुनकेसरी’को पनि एकसाथ जस्तो रिलिज मिति तय हुँदा हुनसक्ने सम्भावित घाटालाई मध्यनजर गर्दै तत्काललाई ’हिरो रिटर्न्स’को रिलिज रोकिएको हो । अफिसियल रूपमा मिति तय नहुँदै गर्दा निर्माण टिम भने जेठको अन्त्यमा चलचित्र ल्याउने तयारीमा जुटेको छ ।
यसैबिच चलचित्रको शीर्ष गीत रिलिज भएको छ । प्रचार प्रसारलाई अघि बढाउने हेतुले चलचित्रको ’हिरो’ बोलको टाइटल गीत सार्वजनिक गरिएको हो । कार्यकारी निर्माता चन्द्र गौतमले गीत रिलिजसँगै चलचित्रको पब्लिसिटी सुरु भएको बताए ।सार्वजनिक गीतमा अभिनेता सविन श्रेष्ठसँगै अभिनेत्री आँचल शर्मा मुख्यतः फिचर छन् । गीतमा आँचललाई बोल्ड अवतारमा प्रस्तुत छिन् । यसअघि चलचित्रसँग जोडिएर कतै पनि नदेखाइएकी आँचलको उपस्थितिले दर्शकलाई चलचित्रप्रति थप कौतुहलता छोडेको छ ।टङ्क बुढाथोकीको शब्द तथा सङ्गीतमा तयार भएको गीतमा स्वर टङ्कसँगै मनीषा पोखरेलको छ । हेटौंडाका विभिन्न स्थानमा छायाङ्कन गरिएको गीतको भिडियोमा कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । सम्पादन मित्र डी. गुरुङको छ । दर्जनौँ कोरससहित तयार गरिएको गीतमा उच्च प्रोपर्टी देख्नसकिन्छ । तर लिड अभिनेत्री रेखा थापालाई भने गीतलाई फिचर गरिएको छैन ।आशिष् भेटवालको निर्देशनमा बनेको चलचित्रलाई मदन कस्यप घिमिरेले छायाङ्कन गरेका हुन्। भीमसँगै अमित श्रेष्ठ निर्माता रहेको चलचित्रमा टङ्कसँगै दीपक शर्माको सङ्गीत छ । चन्द्र पन्तले द्वन्द्व निर्देशन गरेका छन् । चलचित्रलाई हेटौंडा र काठमाडौँ खिचिएको छ । ’हिरो रिटर्न्स’मा प्रस्तुतकर्ता रहेका सविन र रेखासँगै दिल श्रेष्ठ , सरोज खनाल, सुलेमान शङ्कर इकु, सुरेश थापा (तर्सने), रोशन श्रेष्ठ, डिबी बम्जम, सुशान्त श्रेष्ठ, किरण थापा, लक्ष्मी गिरी लगायत लिड अभिनयमा छन् ।‘हिरो’ चलचित्रबाट नेपाली रजतपटमा डेब्यू गर्दै स्टार अभिनेत्रीको ट्याग पाएकी रेखा यो चलचित्र रिलिज हुँदा आफ्नै डेब्यू चलचित्रको ब्रान्डलाई पुनः जीवित राख्ने कोसिसमा हुनेछिन् ।