गत साताबाट प्रदर्शनमा आएको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ दोस्रो सातामा प्रवेश गरेको छ। अभिनेत्री केकी अधिकारीको निर्माण, विशाल भण्डारीको निर्देशन रहेको चलचित्रले पहिलो सातामा सन्तोषजनक व्यापार गरेको छ । अभिनेत्री केकी अधिकारीको अनुसार चलचित्रले पहिलो साता करिब एक करोडको कमाई गरेको बताइन् ।
‘हामीलाई प्राप्त भएको रिर्पाट अनुसार चलचित्रले करिब एक करोडको कमाई गरेको छ । हामी यसमा खुसी छौ । ’ केकी भन्छिन् । सफलताको साथ पहिलो साथ पार गरेको खुसीयालीमा कोहलपुर एक्सप्रेस टिमले बिहीबार केक काट्दै सेलिब्रेसन गरेको छ । उक्त सेलिब्रेसनमा केकीले चलचित्रका कलाकार र सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै सञ्चारकर्मीलाई धन्यवाद ज्ञापन गरेकी थिइन् । कोहलपुर एक्सप्रेसले पाइरहेको मिश्रित प्रतिक्रियाबारे बोल्दै केकी भन्छिन् ‘पहिलो प्रयासमा धेरै सिक्ने मौका पाए । राम्रो नराम्रो कमेन्ट गर्नु भएको छ । हाम्रो कमीकमजोरीलाई हामी स्वीकार गर्छौ र अगामी दिनमा यसलाई सुधार गर्ने प्रयत्न गर्नेछौ । ’
यता निर्देशक भण्डारी भन्छन् ‘जतिबेला चलचित्र घोषणा भयो तब धेरैले मलाई नारीप्रधान चलचित्र चल्दैनन् भनेको थिए । तर आज नारीप्रधान चलचित्रले दर्शकको मन जितेको छ। यसमा हामी खुसी छौ ।’ त्यस्तै चलचित्रका मुख्य कलाकार प्रियंका कार्की र ऋचा शर्मा दर्शकले दिएको मायाले खुसी भएको भन्दै दङ्ग देखिन्थे । चलचित्रमा केकी, प्रियंका र ऋचाको साथमा विनोद न्यौपाने, कुशाग्र भट्टराई, बुद्धि तामाङ, रविन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ ।