आज शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘डमरुको डण्डिबियो’को शुक्रवार बिहान विशेष सो आयोजना गरिएको थियो । कमलपोखरी स्थिति कुमारी हलमा आयोजना भएको विशेष सोमा चलचित्रका निर्देशक छेतेन गुरुङ, कलाकारहरू खगेन्द्र लामिछाने, अंकित खड्का, बुद्धि तामाङ, लक्ष्मी बर्देवा सहित अन्य निर्देशक, कलाकार र पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो । चलचित्र हेरिसके पश्चात् धेरैले चलचित्रको कथावस्तु उत्कृष्ट रहेको प्रतिक्रिया दिए ।
चलचित्र हेर्ने पुगेका निर्देशक दिवाकर भट्टराईले फरक कथावस्तुमा उत्कृष्ट सिनेमा बनेको बताए । उनी हाल अनमोल केसीलाई लिएर क्याप्टेनको सुटिङमा व्यस्त छन् । त्यस्तै चलचित्र हेर्ने निर्देशक दिपेन्द्र के खनाल, प्रदिप भट्टराई, रामबाबु गुरुङ, झरना थापा, लेखक बुद्धि सागार हल सम्म पुगेका थिए । चलचित्र हेरिसके पश्चात् निर्देशक तथा अभिनेत्री झरना थापाले चलचित्रको तारिफ गरेकी थिइन् । ‘लोप हुन लागेको खेलको बारेमा धेरै कुरा सिक्न पाइयो । डमरुको डण्डिबियो साँचैनै राम्रो बनेको छ ।’ झरना भन्छिन् । त्यस्तै निर्माता सुनिलकुमार थापाले चलचित्र युनिटलाई बधाई दिएका थिए । यता कलाकार प्रशान्त ताम्राकारले चलचित्रसँगै कलाकार खगेन्द्र लामिछानेको अभिनयको तारिफ गरेका छन् ।
तेस्रो पटक चलचित्र हेरेको बताउने चलचित्रका मुख्य कलाकार खगेन्द्र लामिछाने दर्शकको प्रतिक्रिया सुनेर दङ्ग थिए । ‘आज दर्शकसँग बसेर हेर्ने पाए । डर थियो हामीले चलचित्रबाट दर्शक इन्गेजिङ गर्न सक्छौँ कि सक्दैनौँ भनेर तर सबै जना रमाइलो मानेर चलचित्र हेरिदिनु भएको छ ।’ खगेन्द्र भन्छन् । चलचित्रमा खगेन्द्र स्वयम्ले कथा लेखेका हुन् । चलचित्रका अन्य कलाकार अंकित खड्का, लक्ष्मी बर्देवा र बुद्धि तामाङ दर्शकले चलचित्र मन पराउनेमा आशावादी रहेको बताए ।