गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘डमरुको डण्डीबियो’ले व्यावसायिक हिसाबमा राम्रो सुरुवात गरेको छ । निर्माण पक्षको अनुसार पहिलो दिन बस व्यवसायीको बन्दको मर्कामा परेको चलचित्रले ५० प्रतिशत माथि अकुपेन्सी कायम गरेको बताइएको छ । त्यस्तै शनिवार देशभरका हलमा ८० प्रतिशत माथि अकुपेन्सी रहेका निर्माण पक्षले दाबी गरेको छ । शनिवार बिहानबाट विप्लव माओपादीको बन्दको हल्ला थियो । बन्दको हल्लाका बाबजुद राजधानीमा सिंगल र मल्टिप्लेक्सका सिट हाउसफुल रहेको वितरक गोविन्द शाहीले जानकारी दिए । उनको अनुसार बिहानी सोमा असर गरेता पनि दिउँसोको प्राय सो हाउसफुल रहेको बताए । शाही भन्छन्  ‘चलचित्रलाई दर्शकले राम्रो प्रतिक्रिया दिइरहेका छन् । यदि यसरी अगाडी बढ्यो भने आगामी दिनमा सो थपिन सक्छ । ’

दर्शक प्रतिक्रिया बुझ्न शनिवार बेलुका गोपीकृष्ण, अष्टनारायण, कुमारी, जयनेपाल लगायतका हलमा चलचित्रका मुख्य कलाकार खगेन्द्र लामिछाने र अनुप बराल पुगेका थिए । जहाँ दर्शक प्रतिक्रियाले उत्साहित बनाएको खगेन्द्र र अनुपले बताए ।
’प्रत्येक चलचित्रमा फरक विषयवस्तु र अवतारमा प्रस्तुत हुँदै आइरहेको छु । यसपटकको विषय र अभिनय दर्शकले मन पराउनु हुन्छ की हुँदैन भन्ने डर थियो । दर्शकको उत्साहित प्रतिक्रिया आगामी दिनमा अझ राम्रो गर्ने ऊर्जा दिएको छ ।’ खगेन्द्रले भने ।
छेतेन गुरुङ  निर्दे्शित चलचित्रले पढाई सकेर लोपोन्मुख डण्डीबियो खेललाई पुनर्जागरण गर्न गाउँ पसेको कथा पस्केको छ ।चलचित्रमा खगेन्द्र र अनुपका अलावा मेनुका प्रधान, बुद्धि तामाङ, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिस्री थापा, इंगि होपू कोइंच सुनवार, नमिता घिसिङ लगायतका कलाकारको अभिनय छ ।‘डमरुको डण्डीबियो’मा नोर्बु छिरिङ घले र विनोद गुरुङको संयुक्त लगानी रहेको छ । भने, खगेन्द्र लामिछानेको लेखन, हरि हुमागाईंको छायाङ्कन, निमेष श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन रहेको छ ।