केही दिनको मोफसल यात्रा पछि चलचित्र ‘लम्फू’ युनिट काठमाडौँ फर्किएको छ । यसै शुक्रवार देशैभर ‘लम्फू’ रिलिज हुँदैछ ।तरकारीवालीको नामले चर्चित कुसुम श्रेष्ठ समेतको अभिनय रहेको यो चलचित्रको प्रचार(प्रसारको लागी राजधानी बाहिर कलाकारहरू कबिर खड्का, सञ्जीत भण्डारी, आयान खड्का, निर्देशक गोपालचन्द्र लामिछाने, निर्माता शक्तिबल्दभ घोरासैनी लगायतको टिम पुगेको थियो । चलचित्रका अन्य कलाकारहरू सलोन बस्नेत, मरिस्का पोखरेल, चाँदनी शर्मा लगायत भने राजधानीमा नै प्रचारको लागी रहेका थिए ।मोफसल यात्राको क्रममा धरान, दमक, हेटौँडा, चितवन र पोखरामा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा सबै स्थानहरूमा तरकारीवालीको प्रसङ्ग प्रमुख स्थानमा रहेको बताइएको छ । तरकारीवाली उर्फ कुसुम हेटौँडा र चितवनका पत्रकारसामु भने पुगेकी थिइन् ।‘तरकारीवाली’लाई किन चलचित्रमा लिनुभयो ? ‘तरकारीवाली’को भूमिका के छ ? कतै तपाईँहरूले तरकारीवालीलाई प्रयोग मात्र गर्नुभएको त होइन ? तरकारीवाली लिएर चर्चा भएपछि चलचित्र हिट हुन्छ भनेर लिनुभएको हो ? तरकारीवालीलाई कसरी चलचित्रमा अभिनय गर्न राजी गराउनुभयो ? जस्ता प्रश्नहरू निर्माता(निर्देशक माथि आएका थिए । यसबारेमा बोल्दै निर्देशक गोपालचन्द्र लामिछानेले कुसुमलाई प्रयोग गरेको तर गलत प्रयोग नगरिएको बताए ।चर्चाको नामलाई प्रयोग गरेर चलचित्र हिट बनाउन खोजिएको हो की भन्ने पत्रकारहरूको निर्देशक लामिछानेले तरकारीवालीलाई होइन कुसुम श्रेष्ठलाई अभिनय गराएको बताए । उनले तरकारीवाली उनको एक्कासि जुरेको पहिचान मात्र रहेको बताए । तरकारीवाली भन्दा अलिक फरक तरिकाले कुसुमले अभिनय गरेको खुलाए । चलचित्रको विषयमा बोल्दै निर्देशक लामिछाने ‘लम्फू’ अमलाको स्वाद जस्तो रहेको बताए । ‘मेरो चलचित्र अमलाको स्वादजस्तो छ, सुरुमा टर्रो खाँदै जाँदा स्वादिलो’, पूर्णतया मौलिकता बोकेको चलचित्र बनेको बताउँदै उनले भने, ‘राम्रो लागे अँगालिदिनुस्, नराम्रो लागे गाली गरिदिनुस्’ ।पत्रकार भेटघाटका क्रममा नायक कबिर खड्काले आफ्नो लागी ‘लम्फू’ भाग्य निर्धारक भएको बताए । उनले अहिले आफ्नो परिचय नै लम्फू बनेको बताए । ‘अहिले मलाई सबैले लम्फू भनेर बोलाउँछन् । चलचित्रको पात्र नै मेरो परिचय बन्दा खुसी लागेको छ’, कबिरले बताए । ‘अभिनयलाई छोडेर पलायन हुने त होइन नि ?’ भन्ने पत्रकारको प्रश्नमा कबिरले आफूले अभिनय बाहेक केही नसोचेको जवाफ दिएका थिए । कलाकारहरू सञ्जीत भण्डारी र आयान खड्काले ‘लम्फू’ मौलिक नेपाली चलचित्र रहेको बताए ।चलचित्रका निर्माता शक्दिबल्दभ घोरासैनीले काठमाडौँ उपत्यका बाहिर चलचित्रको ठुलो बजार रहेकोले प्रचार(प्रसारको लागी मोफसल पुगेको जानकारी दिए । चलचित्र सफल बने आफूहरू पुनस् राजधानी बाहिर दर्शकसामु जाने उनले बताए । घोरासैनीले ‘लम्फू’ बहुप्रतिक्षित नभएपछि उत्कृष्ट रहेको बताए । ‘यो चलचित्र बहुप्रतिक्षित नहुन सक्छ तर राम्रो सम्भावना भने पक्कै बोकेको छ’, उनले भने ।