गत वर्षको सफल चलचित्र ‘ए मेरो हजुर २’को सिक्वेलको रूपमा ‘ए मेरो हजुर ३’ बन्ने भएको छ । ‘ए मेरो हजुर २’ मा नव नायक सलिनमान बनियाँ र साम्राज्ञी शाहको मुख्य भूमिका रहेको थियो । तर चलचित्रको तेस्रो पार्टमा भने यी दुवै कलाकार नहुने निर्देशक झरना थापा बताउँछिन् ।
‘यो पटक सलिन र साम्राज्ञी दुवै हुनेछैनन् । हामीले नयाँ अनुहारको खोजी गर्दै छौ । नायकमा केही नाम चलेका कलाकारसँग कुरा भइरहेको छ भने नायिका नयाँको खोजी गर्दै छौ । ’ झरना भन्छिन् । हालै चार महिनाको अमेरिका बसाई पछि नेपाल फर्किएकी झरना ए मेरो हजुर ३को तयारीमा लागिरहेकी छिन् । पछिल्लो समय यो चलचित्रमा नायक प्रदीप खड्का हुने खबर बाहिरिएको थियो । यसबारेमा बोल्दै उनले भनिन् ‘हामीले प्रदीपसँग कुरा गरिरहेका छौ । चलचित्रको कथा पनि प्रदीपसँग म्याच हुन्छ । अब उहाँको समय मिल्यो भने हामीसँगै काम गछौँ । त्यस्तै हाम्रो टिममा नायक आशिरमान देशराजको पनि नाम आइरहेको छ । चाँडै चलचित्रमा को हुनेछ सार्वजनिक गछौँ । ’नायिकाको प्रश्नमा झरनाको कुरामा थप्दै निर्माता सुनिलकुमार थापा भन्छन् ‘नायिकाको खोजी कार्य सुरु हुदैँछ । पुराना कलाकार भन्दा नयाँ अनुहारको खोजीमा छौँ । राम्रो नायिका भित्राउने प्रयास जारी छ । ’ मिडियामा झरनाकी सुपुत्री सुहानी थापाको पनि निकै चर्चा हुने गर्दछ । यस विषयमा बोल्दै झरना र सुनिल भन्छन् ‘अहिले पढाइमा व्यस्त भएको कारण चलचित्र गरिनै हाल्ने माहौल छैन । पढाई सकिएपछि उनलाई हामी डेव्यु गराउँछौ ।