आज शुक्रवार नेपाली सिनेमाघरमा पाँच चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । जसमा तीन नेपाली चलचित्र छन् भने दुई बलिउड चलचित्र रहेका छन् । यो साता नेपाली चलचित्रमा लम्फु, मनाङ्गे नानी र हिरोज रहेको छ । चलचित्र लम्फुलाई गाेपालचन्द्र लामिछानेले निर्देशन गरेका हुन् । सामाजिक कथा बोल्ने यस चलचित्रमा कविर खड्का, मरिश्का पोखरेल, कुसुम श्रेष्ठ, सलोन बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ । त्यस्तै लभ स्टोरीमा तयार भएको मनाङगे नानी आजबाट प्रदर्शनमा आएको छ । चलचित्रमा भीम गुरुङ, शान्ति गुरुङ, कुशल गुरुङ, रिया गुरुङ, जेनिशा गुरुङ, खुसी गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई खुस बहादुर गुरुङले निर्देशन गरेका हुन् । 
यता चैत्रमा प्रदर्शनको तयारी गरिरहेको चलचित्र ‘हिरोज’ पनि आजबाट प्रदर्शन भएको छ । नायिका पूर्णिमा लामाको निर्माणमा बनेको चलचित्रमा पूर्णिमासँगै करिश्मा मानन्धर, जयकिसन बस्नेत, मुकेश ढकाल, संजोग राणा, दिलकृष्ण श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रलाई एनवी महर्जनले निर्देशन गरेका हुन् । चलचित्रमा राजनीति विकृति, बेरोजगारी, चेलीबेटी बेचबिखच तथा सडक बालबालिकाको कथालाई उठाइएको छ । 

 

यता बलिउडर्फ भने दुई चलचित्र ’राजी’ र ’द पास्ट’ रिलिज भएका छन् । राजीमा अभिनेत्री आलिया भट्टको मुख्य भूमिका रहेको छ । चलचित्रमा उनी जासुसको भूमिका देखिएकी छिन् । मेघना गुलजार निर्दे्शित चलचित्रमा आलियासँगै विककी कौशल, रजित कपुर, सोना रजदान, जयदिप अलावत लगायतको अभिनय रहेको छ। बलिउडको हरर थ्रिलर चलचित्र ‘द पास्ट’ पनि आजबाट रिलिज भएको छ । चलचित्रलाई गगन पुरीले निर्देशन गरेका हुन् । चलचित्रमा युवराज परशर र वेदिता प्रताप सिंहको मुख्य भूमिका रहेको छ ।