चलचित्र ‘बोबी’ले नर्वेमा भव्य प्रिमियर सो सम्पन्न गरेको छ । नर्वेको ओस्लोस्थित भीका भिक्टोरिया हलमा चलचित्रको प्रिमियर सो आयोजना गरिएको थियो । उक्त सोमा करिब ४ सय बढी उपस्थित रहेको बताइएको छ । निर्देशक चाम्सका अनुसार सबटाइटलसहितको चलचित्र हेर्न नर्वे, इटाली, माल्टा, युके लगायत देशका नेपालीसँगै विदेशी पनि उपस्थित थिए । सफल प्रिमियर पश्चात् चाम्सले नेपाली सिनेमा बजारको अर्को ढोका खोल्न सफल भएकोमा खुसी व्यक्त गरे ।
प्रिमियरमा नर्वेको कल्चरल डिपार्टमेन्ट प्रमुख थारिया ग्लोपनको पनि सहभागिता थियो । रियल जोडीको कथामा बनेको चलचित्र बोबीमा कविता गुरुङ र उमेश थापाको मुख्य भूमिका रहेको छ । यी दुवै जनाको प्रेम, सङ्घर्ष र सफलताको कथा ‘बोबी’ भित्र छ । चलचित्रमा कविता र उमेशको अलावा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पूर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको अभिनय रहेको छ ।चाम्स इन्टरटेनमेन्ट र लन्डन आई इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको ‘बोबी’मा सञ्चारकर्मी नरेश भट्टराईको स्क्रिप्ट, नवराज कृष्ण थापाको छायाङ्कन, अर्जुन जिसीको सम्पादन र ताराप्रकाश लिम्बुको सङ्गीत रहेको छ ।