चलचित्र ‘प्रेमगीत’बाट चर्चामा आएकी नायिका पूजा शर्मालाई प्राय एउटै आरोप लाग्ने गर्छ । पूजाले निर्देशक सुदर्शन थापा बाहेकका चलचित्र नगर्ने आरोप खेप्दै आएकी थिइन् । त्यस्तै गतबर्ष पूजा र सुदर्शन मिलेर ‘म यस्तो गीत गाउँछु’ निर्माण गरेका थिए । जुन सुपरहिट रह्यो भने यति बेला यी दुईको निर्माण रहेको ‘रामकहानी’ आउँदो भदौ २२ गते रिलिज हुँदैछ । पछिल्ला समय निर्देशक थापासँग पूजाको सम्बन्ध बिग्रिएको खबरहरू आइरहन्छ ।
यो बारेमा दुवैले आफ्नो मुख खोलेका छैनन् । तर यति बेला पूजा सुदर्शन क्यापबाट भने बाहिरिएकी छिन् ।उनले हालै बाहिरी ब्यानरको एक चलचित्र साइन गरेकी हुन् । चलचित्रलाई सुरज सुब्बा ‘नाल्बो’ले निर्देशन गर्दै छन् । अधिकांश छायाङ्कन अमेरिकामा हुने चलचित्रको लागी केही अघि मात्र अनुबन्धित भएको पूजाले जानकारी दिइन् । चलचित्रमा शर्माले महँगो पारिश्रमिक लिएको बुझिएको छ । किन सुदर्शन क्याम्पबाट बाहिरिनु भयो ? भन्ने प्रश्नमा पूजा भन्छिन् ‘यस अघिपनि अफर आइरहेको थियो । तर आफ्नो चलचित्र निर्माणमा व्यस्त थिए ।मलाई धेरैले भन्ने गर्छन् सुदर्शनबाहेकको चलचित्र गर्दिनन् भनेर सोही कारण यो चलचित्रमा काम गर्न राजी भए । ’ सम्बन्ध बिग्रिएर हो? भन्ने प्रश्नमा उनी भन्छिन् ‘उहाँसँग सम्बन्ध बिग्रिएको छैन । अरू ब्यानरको चलचित्र गर्दा पनि आरोप आउँछ, नगर्दा पनि आउँछ । ’ चलचित्रमा पूजाको जोडीको रूपमा अभिनेता दयाहाङ हुने सम्भावना प्रबल रहेको बताइएको छ ।