गत वर्ष चैत्र ९ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘शत्रु गते’ले शनिवार ५१औँ दिन मनाएको छ । काठमाडौँको विभिन्न ८ हलहरूमा ५१ औँ दिन मनाउन सफल भएको चलचित्र युनिटले शनिवार सेलिब्रेसन पार्टी आयोजना गरेको थियो ।
ललितपुरको इमाडोलको एक पार्टी प्यालेसमा आयोजना भएको सेलिब्रेसन पार्टीमा चलचित्रका कलाकार सहित विभिन्न व्यक्तिहरू उपस्थिति रहेको थियो । शत्रुगते युनिटले चलचित्रका सम्पूर्ण कलाकार, प्राविधिक, सञ्चारकर्मीहरूलाई मायाको चिनो प्रदान गरेको थियो भने हल सञ्चालक, वितरक, विभिन्न ब्रान्ड पार्टनरहरुलाई धन्यवाद पत्र ज्ञापन गरेको थियो ।
कार्यक्रममा चलचित्रका कलाकारद्धय दिपकराज गिरी र दिपाश्री निरौला भने उपस्थिति भएनन् । चलचित्रलाई प्रदिप भट्टराईले निर्देशन गरेका हुन् । यसअघि उनी निर्देशित ‘जात्रा’ले पनि ५१औँ दिन मनाउन सफल भएको थियो ।
किरण केसीको निर्माण र मह सञ्चारको प्रस्तुति रहेको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, शिवहरि पौडेल, रमेशरञ्जन झा, पल शाह, आँचल शर्मा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।