हास्य टेलिसिरियल ‘डिठ्ठा साब’का मुख्य कलाकार किशोर भण्डारीको निर्देशनमा बनेको चलचित्र ‘चङ्गा’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रम बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । कार्यक्रममा निर्देशक भण्डारीसहित चलचित्र युनिट र कलाकारको बाक्लो उपस्थिति रहेको थियो । कमेडीको साथै सस्पेन्सले भरिपूर्ण ट्रेलरमा चलचित्रका सम्पूर्ण कलाकार अटाएका छन् । चलचित्रमा बुद्धि तामाङ, कमलमणि नेपाल, अंकित खड्का, लक्ष्मी बर्देवा, रेश्मा तिमिल्सिना, प्रेमबर्षा खड्का, जीवन भट्टराई, राजन खतिवडा, लकी भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ । आउँदो जेठ २५ गतेबाट प्रदर्शनका आउन लागेको चलचित्रलाई हास्यकलाकार रेश्मा तिमिल्सिना उर्फ बुनु मैचाँले निर्माण गरेकी हुन् । चलचित्रमा लेखन निर्देशक भण्डारी स्वयम्को रहेको छ ।यसअघि चलचित्रमा समावेश ‘कम्पनी माला’ बोलको गीत सार्वजनिक भइसकेको छ ।चलचित्रमा राजनराज सिवाकोटी र कमल खत्रीको सङ्गीत रहेको छ भने कविराज गहतराजको कोरियाग्राफी, नवराज उप्रेतीको छायाङ्कन, कृष्ण भण्डारीको सम्पादन रहेको छ ।