मल्टिस्टारर चलचित्र ‘एउटा यस्तो प्रेमकहानी’को टिजर सार्वजनिक भएको छ । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रम बिच चलचित्रको टिजर सार्वजनिक गरिएको हो । बरिष्ठ अभिनेता शिव श्रेष्ठको निर्माणमा बनेको यो चलचित्रबाट शिवका छोरा शक्ति श्रेष्ठ र अभिनेत्री करिष्मा मानन्धरकी छोरी कविता मानन्धर डेव्यु गर्दैछन् । आयोजित कार्यक्रममा शक्ति र कविताले सिनेमा नगरीमा अफिसियल डेव्यु गरेको घोषणा गरिएको थियो ।
एउटा यस्तो प्रेमकहानीलाई दिपेश सापकोटाले निर्देशन गर्दैछन् । चलचित्रको केही प्रतिशत छायाँकन सकिसकेको छ । चलचित्रको केही प्रतिशत छायाँकन अष्ट्रेलिया र अमेरिकामा हुने निर्माण पक्षले जानकारी दिए । सार्वजनिक टिजरमा चलचित्रका अधिकांस कलाकार अटाएका छन् । चलचित्रमा शक्ति र कविताको साथमा शिव श्रेष्ठ, प्रियंका कार्की, बर्षा राउत, आयुशमान देशराज जोशी, संजोग कोइराला, बसुन्धरा भुसाल, किरण केसी, अंग तम्बे शेर्पा, नरेन केसी, मिथिला शर्मा, बिष्णु चेम्जोङ, रेखा फागु, धुर्व कोइराला, करिष्मा मानन्धर लगायतका कलाकारको अभिनय रहनेछ । बदलाको कथामा बनिरहेको चलचित्रमा कथा अभिनेता श्रेष्ठको रहेको छ भने संगीत बसन्त सापकोटा, अर्जुन पोखरेल र सन्तोष राजुराको रहेको छ । चलचित्रमा सम्पादन उज्जल ढकाल, छायाँकन सुजन प्रजापति, द्धन्द रोशन भट्टराई र अष्ट महर्जनको रहेको छ । चलचित्रलाई शिव श्रेष्ठको साथमा बागमतीका निर्माताद्धय दिनेश दर्शनधारी र यसोदा राईले लगानी गरेका छन् ।