हालै छायाङ्कन सकिएको चलचित्र ‘दि कर्मा’मा नायिकाद्धय निता ढुंगाना र परमिता राणा र कलाकार बुद्धि तामाङको प्रवेश भएको छ । पोस्ट प्रोडक्सनको काम भइरहेको चलचित्रको केही तस्बिरहरू सार्वजनिक भएका छन् । जसमा बुद्धि र परमिता एकसाथ देखिएका छन् । नायिका परमिता राणाले इन्टाग्राममा एक तस्बिर सेयर गर्दै आफ्नो क्यारेक्टरको नाम ‘अम्बिका देवी’ रहेको खुलाएकी हुन् । सार्वजनिक तस्बिर अनुसार चलचित्रमा बुद्धि र परमिताको जोडी रहेको बुझ्न सकिन्छ ।

‘दि कर्मा’मा बुद्धिको प्रवेश, परमिता बनिन् ‘अम्बिका देवी’

चलचित्रमा कलाकारको कस्तो भूमिका रहने छ गीत र ट्रेलर आएपछि खुलाइने निर्माण पक्षले बताएको छ । चलचित्र घोषणाताका मुख्य नायिकाको छनौट बाँकी नै थियो । चलचित्रमा परमिता र निताले प्रमुख भूमिका निभाएका छन् र बुद्धिको भूमिका पनि प्रमुख रहेको बताइएको छ । यसै चलचित्रमा भारतका मोडल तथा कलाकार करण बर्माको पनि प्रमुख अभिनय छ ।
नेपाल र भारतको सीमा क्षेत्रमा हुने घटनामा बनेको यो चलचित्रलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका छन् । जय मिडिया म्यानेजमेन्ट प्रा.लिई.को ब्यानरमा बनेको ‘दि कर्मा’को छायाङ्कन नेपालको तराई क्षेत्र र भारतको सिक्किममा भएको छ । जय राज रायको कथामा रहेको यस चलचित्रलाई रामेश्वर कार्कीले छायाङ्कन गरेका छन् ।जय राज राय र निशा खतिवडा निर्माता रहेको यो चलचित्र नेपाली र हिन्दी भाषामा बनेको छ । भारतमा पनि चलचित्रको प्रदर्शनी गरिने निर्माता रायले बताए । नेपालमा यो चलचित्र आगामी भदौ महिनामा रिलिज गरिने  बताइएको छ ।