यही जेठ ११ गते प्रदर्शन मिति तय गरेको चलचित्र ‘ब्ल्याक’ले आफ्नो प्रदर्शन मिति पर सारेको छ । जेठमा नेपाल वैशाख अन्तिम सातासम्म चलेको नेपाल चलचित्र निर्माता सङ्घ र चलचित्र संघबीचको शेयर बाँडफाँडको लफडा तथा जेठ पहिलो साताको लागी घोषणा गरिएको (यसअघि नै सहमतिमा स्थगित) आन्दोलनको कारण प्रचार प्रसारमा प्रभाव परेको भन्दै निर्माण युनिटले चलचित्र भदौ १ मा रिलिज गर्ने घोषणा गरेको छ । चलचित्रमा नायिका आँचल शर्मा र नायक आकाश श्रेष्ठको मुख्य भूमिका रहेको छ ।
चलचित्रको प्रमोसन सुरु गरिएको भन्दै केही समयअघि निर्माण पक्षले एक गीत सार्वजनिक गरिसकेको छ । चलचित्रमा प्रदिप श्रेष्ठको निर्देशन र मौनता श्रेष्ठको लेखन रहेको छ । ब्ल्याकले आफ्नो प्रदर्शन मिति सारेसँगै सोही मितिमा अर्को चलचित्र ‘जय शम्भो’ पनि प्रदर्शनमा आउने पक्का भएको छ। केही दिन अघि निर्माण पक्षले चलचित्रको प्रदर्शन मिति तय गरेको हो । यस चलचित्रमा अनुपबिक्रम शाही, प्रशान्त ताम्राकार र वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको छ । यस हिसाबमा हेर्ने हो भने उक्त दिन दुई नायिका आँचल शर्मा र वर्षा सिवाकोटीको भिडन्त हुने पक्का देखिन्छ ।