भोलि यानिकि शुक्रवारबाट सिनेमा घरमा अभिनेत्री ऋचाको शर्माको निर्माण र अभिनेता अर्पण थापाको निर्देशन रहेको चलचित्र ‘सुनकेशरी’ प्रदर्शनमा आउँदै छ । निर्माता र प्रदर्शन बिच भएको आन्दोनलको कारण ढिलाइ प्रचार–प्रसार थालेको चलचित्र युनिट बुधवार प्रमोसनको क्रममा चितवन पुगेका छन् । चितवनमा आयोजना भएको पत्रकार सम्मेलनमा चलचित्रकी निर्मात्री ऋचा शर्मा र निर्देशक अर्पण थापा उपस्थित भएका थिए ।
पत्रकार सम्मेलनमा बोल्दै ऋचा भन्छिन् ‘हरर जनरामा बनेको चलचित्र सुनकेसरीलाई दर्शकहरूले मन पराईदिनुहुनेमा ढुक्क छौ । सुनकेशरी नेपालमा बनेका हरर चलचित्र मध्यको एक स्तरिय चलचित्र हो ।’ चलचित्र सुनकेशरीको सम्पूर्ण छायाङ्कन अस्ट्रेलियामा गरिएको हो । त्यस्तै निर्देशक अर्पण थापा भन्छन् ‘हामीले स्तरिय बनाउने प्रयास गरेका छौ । चलचित्र हेरेर मनोरञ्जन लिने सोचमा चलचित्र हेर्ने हो भने दर्शकलाई मन पर्छ तर हरर चलचित्र कस्तो बनेको छ ? तर्साउँछ या तर्साउँदैन भन्ने सोचमा गइयो भने नमन पर्न सक्छ । यो दर्शकको सोच हो । जुन हाम्रो रिक्सा हो । त्यही रिक्स मोलेर हामीले सुनकेशरी बनायौ । ’
सुनकेशरीले यो साता सोलो रिलिज पाएको छ । चलचित्रलाई ऋचाको अलावा भीम न्यौपाने, रविन्द्र मिश्र, सुनिल पराजुली, तमन्ना शर्मा लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा शर्मिला सापकोटा र धर्मराज अधिकारी सह– निर्माता हुन भने कार्यकारी निर्माताको रूपमा मनोज अधिकारी रहेका छन् । चलचित्रका कथा निर्देशक थापाले लेखेका हुन् ।