आज शुक्रवार कुनै चलचित्र हेर्ने तयारी गर्दै हुनुहुन्छ भने आजबाट सिनेमा घरमा अभिनेत्री ऋचा शर्माको निर्माण र लगानी रहेको चलचित्र ‘सुनकेशरी’ प्रदर्शनमा आएको छ । चलचित्रलाई अभिनेता अर्पण थापाले निर्देशन गरेका हुन् । हरर जनरामा निर्माण भएको चलचित्रको बिहीबार राती प्रिमियर सो आयोजना गरिएको थियो । जहाँ कलाकार र सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो । चलचित्र हेरिसके पश्चात् उपस्थितले राम्रो रहेको प्रतिक्रिया दिएका थिए । चलचित्र हेर्न पुगेकी अभिनेत्री तथा निर्देशक झरना थापाले सुनकेशरीको तारिफ गरेकी थिइन् । आफू धेरै ठाउँमा तर्सिएको उनले बताइन् ।

त्यस्तै नायिका वर्षा सिवाकोटीले पनि चलचित्र राम्रो लागेको बताएकी थिइन् । निकै लामो समय पछि नेपाली चलचित्र क्षेत्रमा हरर स्वादको चलचित्र रिलिज भएको हो ।सम्पूर्ण छायाङ्कन अस्ट्रेलियामा गरिएको चलचित्र ऋचा शर्मा फिल्मस्को ब्यानरमा निर्माण भएको छ । चलचित्रमा ऋचाको साथमा सन्नी ढकाल, रविन्द्र झा, सुनिल पराजुली, लौरेन लोफ्बेर्ग लगायतका कलाकारको अभिनय रहेको छ । भीम न्यौपाने, ऋचा शर्मा र शर्मिला सापकोटा निर्माता रहेको चलचित्रमा मनोज अधिकारी कार्यकारी निर्माताको रूपमा रहेका छन् । शुक्रवारको बिहानी सो अधिंकास हाउसफुल रहेको बताइएको छ ।