चलचित्र रोमियो एण्ड मुनाको नयाँ गीत सार्वजनिक भएको छ । नयाँ प्रदर्शन मिति तय गर्दै चलचित्रको तेस्रो गीत पल पल बोलको गीत सार्वजनिक गरिएको हो । यस अघि दुई पटक पोसपोण्ड भएको चलचित्र अब साउन ११ गतेबाट प्रदर्शनमा आउने निर्माता प्रसन्न गोपालीले जानकारी दिए । रोमियो एण्ड मुनाको नयाँ गीत गायिका सुक्मित गुरुङले गाएको हिट गीत हो । गीतमा सङ्गीत तथा शब्द विश्व शाहीको रहेको छ ।
गीतको भिडियोमा चलचित्रका मुख्य दुई पात्र विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ फिचरिङ छन् भने राजीव समर र निर्देशक नरेशकुमार केसीले यसलाई कोरियोग्राफी गरेका छन् । भिडियोको भिएफएक्स पक्ष आइ ड्रिम एनिमेशनले गरेको हो । छायाङ्कन शिवराज श्रेष्ठले गरेका छन् । कार्यक्रममा गायिका सुक्मित गुरुङलाई रोमियो मुना टिमले सम्मान पनि गर्यो । सुक्मितले आफ्नो पुरानो गीतलाई पुर्नजन्म दिएकोमा चलचित्र टिमलाई धन्यवाद दिइन् । यस्तै राष्ट्रिय स्तरका पेन्टर सागर शाह र सन्तोष विष्टलाई पनि रोमियो एण्ड मुना टिमले सम्मान गर्यो ।
भी मोशन पिक्चर्स र केएस प्रोडक्सनको संयुक्त प्रस्तुति रहेको चलचित्रमा विनय र सृष्ट्रिसँगै सुस्मा कार्की, प्रज्जवल सुजल गिरी, सुरक्षा पन्तको अभिनय रहेको छ । निर्देशक नरेश कुमार केसीको पटकथा रहेको चलचित्रमा संवाद निरोज महर्जनको छ । चलचित्र निर्माणमा विनय र प्रसन्नसँग राम शर्मा र कविन शाक्यले सहकार्य गरेका छन् ।