गत वर्षको हिट चलचित्र लिलीबिलीका निर्देशक मिलन चाम्सको नयाँ चलचित्रमा अभिनेता अनमोल केसी फाइनल भएका छन् । हिजो सनिबारमात्र अनमोल नयाँ चलचित्र ए मेरो हजुर ३ मा फाइनल भएका थिए । सोही दिन उनी अर्को चलचित्रमा पनि फाइनल भएका हुन् । मिलनले यसअघि अनमोललाई चलचित्र लिलीबिलीको लागी अफर गरेका थिए । तर अनमोलले उक्त चलचित्र गर्न मानेनन् । पछि लिलीबिलीमा प्रदिप खड्का अनुबन्धित भए । मिलनले सिनेपाटीलाई जानकारी दिए अनुसार चलचित्रको लागी अनमोलले साइन गरिसकेका छन् । तर छायाङ्कनमा भने ए मेरो हजुर ३ अगाडी जाने छ । चाम्स भन्छन् 'झरनाजीको छोरी सुहानी थापाको पढाइको कारण चाँडै छायाङ्कन सकाउनु पर्ने भयो । हामी बिच सम्झदारीमा नै पहिले ‘ए मेरो हजुर ३’ सुटिङ गर्ने र पछि मेरो चलचित्रको छायाङ्कन गर्न कुरा भएको छ ।' तर प्रदर्शन भने चाम्सको चलचित्र अगाडी हुने उनले जानकारी दिए । मिलनले अनमोलले चलचित्रमा लिएको पारिश्रमिकको बारेमा भने खुलाउन चाहेनन् । त्यस्तै चलचित्रमा को नायिका हुने छिन् ? भन्ने प्रश्नमा उनी भन्छन् सकेसम्म चलचित्र क्षेत्रमा काम गरिरहेका नायिका राख्नेछौ । हाल भने अनमाेल नयाँ चलिचत्र क्याप्टेनकाे सुटिङ्गमा व्यस्त छन् ।