श्रावण ११ गतेलाई प्रदर्शन मिति तय गर्दै नेपाली चलचित्र ’चि मुसी चि’को पहिलो गीत रिलिज गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बिच कलाकार र निर्माण टिमको उपस्थितिमा ’तिमीले माग्छौ भने’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको हो । सुरज अधिकारीको शब्द तथा सङ्गीत रहेको गीतमा अञ्जु पन्त र युवराज चौलागाईँको स्वर सुन्न सकिन्छ । गीतको भिडियोमा चलचित्रका दुई लिड कलाकार सुनिल क्षेत्री र अलिशा शर्मा फिचर छन् । यी दुईको यो डेब्यू फिल्म हो । गीतको कोरियोग्राफर अभिनेता क्षेत्री स्वयम् हुन् । 

म्युजिकल थ्रिलर जनरामा निर्मित यस चलचित्रलाई निर्देशक दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् । अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की छन् । 

डिआईडी सिजन ४ को टप १० मा समेत पर्न सफल डेब्यू ब्वाई सुनिलले ’चि मुसी चि’को कथाले आफूलाई आकर्षित गरेको बताए । चर्चित नृत्यांगना अलिशा आफूले कल्पना गरेको जस्तै भूमिका ’चि मुसी चि’मा निर्वाह गर्न पाएकोमा प्रफुलित देखिन् । 

शिवराज कार्की, शेखर अधिकारी, सुशान्त कार्की, कमली वाइवालागयतका कलाकारहरूको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । वासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन् ।