अभिनेत्री रेखा थापाको निर्माण र निर्देशनमा बनिरहेको चलचित्र मालिकाको यति बेला जाजरकोटमा छायाङ्कन भइरहेको छ । केही दिनदेखि जाजरकोट दरबार प्राङ्गणमा गीतको छायाङ्कन भइरहेको रेखाले जानकारी दिइन् । काठमाण्डौबाट छायाङ्कन सुरु गरेर रेखा कोहलपुर हुँदै जाजरकोटसम्म पुगेकी हुन् । अबको दश दिनमा चलचित्रको सम्पूर्ण छायाङ्कन सकिने रेखाको भनाई छ । छायाङ्कन भइरहेको गीतको छायाङ्कन सकिएसँगै त्यसको केही दिनमा पूर्ण चलचित्रको छायाङ्कन सकिने रेखाले जानकारी दिइन् । ४० दिनको छायाङ्कन सेड्युल बनाएता पनि दश दिन अघि नै चलचित्रको काम सकिएको रेखा बताउँछिन् ।
चलचित्रको गीतको २ सय ६८ वर्ष पुरानो जाजरकोट दरबारमा जिल्लाको स्थानीय भेष–भूषा र संस्कृति झल्किने मेलाको दृश्य बनाएर भइरहेको छ। रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा एक सय बढी त कोरस मात्रै रहेको रेखा बताउँछिन् ।
सुरेश अधिकारीको सङ्गीत रहेको लोक लयको गीतले दर्शकको मन जित्नेमा रेखा ढुक्क छिन् । दर्शकको रोजाइकै गीत छ, रेखाको विश्वास छ, भिडियोमा पनि हामीले मिहेनत गरेका छौँ । जीवन रूपान्तरणका विश्व प्रशिक्षक नरवहादुर कार्कीको परिकल्पनामा तयार भएको ‘मालीका’ चलचित्रको विषय वस्तु महिला हिंसा र बालबिवाह मुक्त नेपाल निर्माणको अभियानमा केन्द्रित छ ।
मालिकामा रेखा र जाजरकोटकी चौध वर्षीय कमला ओली मुख्य भूमिकामा प्रस्तुत भइरहेका छन् । रेखाले मालिकालाई तिहारको अवसर पार्दै लक्ष्मीपूजामा रिलिज गर्ने घोषणा गरेकी छन् ।