फेशन र मोडलिङलाई आफ्नो सोख र करियर बनाउन इच्छुक एसइइ परीक्षा दिएर बसेका विद्धार्थीलाई लक्षित गरि सञ्चालित एसइइ मोडल हन्टको पहिलो संस्करणमा ५० जना प्रतिस्पर्धी ग्राण्ड फिनालेमा भिड्ने भएका छन् ।डि.एम. इन्टरटेन्मेन्टको आयोजना तथा थ्रिडी नेपालको ब्यवस्थापनमा गरिएको एसइइ मोडल हन्ट २०१८ को ग्राण्ड फिनाले शुक्रबार काठमाडौंको जमलस्थित राष्ट्रिय नाँचघरमा हुदैछ । विभिन्न छनौट चरण, तालिम, ट्यालेन्ट राउन्ड पार गर्दै अन्तिम चरणमा पुगेका ५० प्रतिस्पर्धीले ग्राण्ड फिनालेमा सहभागि हुने आयोजकले जनाएको छ । छनौट भएका प्रतियोगीलाई ४० दिनसम्म विभिन्न विषयमा तालिम तथा प्रशिक्षणहरु पश्चात् फिनालेको लागि तयार गरिएको आयोजक डि.एम. इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक डेनी मगरले जानकारी दिनुभयो ।
देशका विभिन्न ठाउँ र स्कुललाई प्रतिनिधित्व गर्दै प्रतियोगीतामा सहभागि भएका प्रतिस्पर्धीहरु उपाधि जित्न अहिले विभिन्न प्रशिक्षण लिईरहेका छन् । उनीहरुलाई म्यानहन्ट नेपाल इन्टरनेशनल विजेता सनिश शाक्य र इन्डियाज नेक्स्ट टप मोडलकी फ्रष्ट रनर अप सबिता कार्कीले कोरियोग्राफी गरिरहनुभएको छ ।
इभेन्ट म्यानेजमेन्ट थ्रिडी नेपालले करिब १ हजार दर्शक, विशेष अतिथि, निर्णायक मण्डल र विभिन्न कलाकारहरुको प्रस्तुतीको साथमा ग्रान्ड फिनाले गरिने बताएको छ । इभेन्ट म्यानेजर रिदम कार्कीले प्रतियोगिताको तयारी सम्पूर्ण रुपमा पूरा भइसकेको जानकारी दिदै आफूहरु सबै प्रतियोगीलाई स्टेजमा उतार्न आतुर रहेको बताउनुभयो ।
एसइइ मोडल हन्टका बिजेता तथा उप विजेताले क्राउन सहित नगद पुरस्कार साथै कक्षा ११ र १२ अध्ययनको लागि पूर्ण छात्रावृत्ति, विभिन्न गिफ्टहरु र प्रमाणपत्र प्राप्त गर्नेछन् ।