प्रेमकथानक फिल्म ड्रिम गर्लमा समावेश तिम्रो मायामा हराउन बोलको गीत सार्वजनिक गरिएको छ । ऋषिराज आचार्यको लेखन, निर्माण र निर्देशनमा बनेको फिल्मको सो गीत बिहीबार राजधानीमा प्रेसमिट गरी प्रदर्शन गरिएको हो । 

दशैको अवसरमा असोज १९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको सो गीत अन्जु पन्त र सुरेश लामाले गाएका हुन् । अम्बिका शर्माले लेखेका गीतमा अर्जुन पोखरेलको सङ्गीत छ । गम्भीर विष्टले कोरियोग्राफी गरेको गीतको भिडियोमा आकाश श्रेष्ठ र आश्मा गिरी रोमान्टिक मुडमा प्रस्तुत भएका छन् । रारा ताल र थाइल्याण्डका विभिन्न रमणीय स्थानमा खिचिएको सो गीतमा प्रेमीप्रेमीकालाई प्रेमभावमा प्रस्तुत गरिएको निर्देशक आचार्य बताउँछन् । 
 

दुई करोड भन्दा बढी लगानीमा बनेको फिल्ममा आकाश र आश्माका साथमा सरोज खनाल, अर्जुन श्रेष्ठ, बिल्सन विक्रम राई, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा गैँडा,लक्ष्मी गिरी,रश्मि भट्ट, सुरवीर पण्डितलगायतले अभिनय गरेका छन् । डिसिएनले वितरण गर्ने फिल्मको निर्मातामा निर्देशक ऋषिराज स्वयम्, अर्जुन शर्मा र रामेश्वर घिताल छन् । ड्रिम गर्ल आरबि मुभीजले दक्षिण भारतको रिल एण्ड रियल सिनेमा कम्पनीसँगको सहकार्यमा निर्माण गरेको हो ।
काठमाडौँ, मुस्ताङ तथा थाइल्याण्डका विभिन्न स्थानमा खिचिएको फिल्मको सम्पादन नवीन निरौलाले गरेका हुन् । कार्यक्रममा निर्देशक आचार्यले ड्रिम गर्लमा युवा पुस्ताको सोच, प्रेम र समर्पणको कथा रहेको बताए ।