थिएटर भिलेज र थेम्स ईन्टरनेशनल कलेजको सहकार्यमा मण्डला थिएटरमा नयाँ नाटक ’झिमिक झिमिक झ्याप्प’ मन्चन हुँदैछ। जेठ २१ गतेबाट नियमित मन्चन हुने यो नाटक बेलायती नाटककार पिटर स्याफरको नाटक ’ब्ल्याक कमेडी’ मा आधारित भई नेपालीकरण गरिएको छ। थिएटर भिलेजमा आबद्ध रही नियमित अभिनय र निर्देशन गरिरहेका दिलीप रानाभाटको निर्देशनमा तयार भएको यस नाटक असार ३ गतेसम्म नियमित मन्चन हुनेछ।
आफ्नी प्रेमिकाको बाबु र एउटा धनाढ्य आर्ट कलेक्टरलाई ईम्प्रेस गर्नको लागि एउटा युवा कलाकारले साथीको कोठाबाट साथीका दुर्लभ र महँगा सामग्री चोरेर ल्याउँछ।उसको घरमा एक्कासि बत्ती जान्छ।त्यसपछि नाटकमा जे जति रोमाञ्चक घटना घट्छन्,ती सबै अँध्यारोमै घट्छन् ।
आजको समाजमा आधुनिकताको खास्टो ओढेर मान्छेले एक अर्कोलाई कसरी झुक्याइरहेका छन् र त्यसले गर्दा सम्बन्धहरू कसरी भत्किरहेका छन् भन्ने कुरामा नाटक केन्द्रित छ। मान्छेका सम्बन्धमा देखिने खोक्रोपनामा समाज र राजनीतिको कस्तो भूमिका रहेको छ भन्ने कुरालाई नाटकले कलात्मक ढङ्गले प्रस्तुत गरेको छ।
आयुष्ना गिरी,एच के अधिकारी,प्रशंसा पौडेल,सन्देश ले मोटे शाक्य,आयुष्मान प्याकुरेल,प्रस्तुति भट्टराई,श्रवण कुमार राना र बिपिन रिमालको अभिनय रहेको यस नाटकमा साजन कुमार सुनुवार र सुशान श्रेष्ठ निर्देशन सहयोगी रहेका छन् । उमेश तामाङको प्रकाश रहेको यो नाटकलाई दिलीप रानाभाट र आलोक लम्सालले अङ्ग्रेजीबाट नेपालीमा अनुवाद गरेका छन्।