यति बेला ऐतिहासिक नेपाली चलचित्र ‘नालापानी’को भव्यरुपमा छायाङ्कन भइरहेको छ । अहिले ’नालापानी’ युनिट चितवनको ऐतिहासिक स्थान ’उपरदाङ्ग गढी’मा छ । एक सातादेखि छायाङ्कन भइरहेको र अझै एक हप्ताको छायाङ्कन पछि युनिट राजधानी फर्किने निर्देशक रिमेश अधिकारीले बताए । ’उपरदाङ्ग गढी’को छायाङ्कन सकिँदा चलचित्रको नब्बे प्रतिशत छायाङ्कन सकिने र बाँकी दश प्रतिशत छायाङ्कन राजधानीमा हुने बताइएको छ । नयाँ वर्ष २०७६ मा प्रदर्शनको लक्ष्य लिइएको यो चलचित्र विभिन्न ऐतिहासिक स्थानहरूमा छायाङ्कन भएको छ ।
भिएफएक्सको अधिक प्रयोग हुने यस चलचित्रका सम्पूर्ण दृश्य छायाङ्कनमा चलचित्रका सम्पादन टिम तथा भिएफएक्स टिम सँगै रहेर काम गरिरहेका छन् ।
हाल भारतमा अवस्थित देहरादुनको नालापानीमा सन् १८१४ मा नेपालले ब्रिटिस साम्राज्यविरुद्द नेपालले युद्ध लडेको थियो । आफ्नो साम्राज्य विस्तार गर्दै भारतसम्म आइपुगेको तत्कालीन ब्रिटिस इष्ट इन्डिया कम्पनीले नेपालमा आफ्नो अधिपत्य कायम गर्न अघि बढेको समयमा त्यसलाई रोक्न नेपालले युद्ध लड्नुपरेको थियो ।
त्यो समयमा नेपालमा पर्ने नालापानी आइपुगेको अङ्ग्रेज सेनासँग नेपाली सेनाको मुठभेड भयो । तत्कालीन वीर गोरखाले सेना कप्तान बलभद्र कुँवरको नेतृत्वमा नेपालले अङ्ग्रेजसँग बहादुरीपूर्वक लडाइँ लडेको थियो ।
कमजोर सैन्य शक्ति, प्रविधि आदिका कारण उक्त लडाइँमा नेपालले विजय प्राप्त गर्न सकेन तर, नेपालले युद्धमा प्रस्तुत गरेको वीरता तत्कालीन शत्रुपक्ष र विश्व सैन्य इतिहासमै र हालसम्म पनि उच्च प्रशासित भयो । उक्त लडाइँ नेपाली सेनाले तीन पटकसम्म जितेको थियो तर अङ्ग्रेज फौजले चलाखी गरेर हराएको थियो । अङ्ग्रेजले पानीको मुहान थुनिदिएपछि पनि लामो समय लडाइँ गर्दा गर्दै नेपाली सेना पछाडि हट्न बाध्य बनेको थियो ।
यसै विषयमा आधारित रहेर प्राचार्य रामराजा कुँवर र प्रा. डा.धन बहादुर कुँवरले लेखेको ऐतिहासिक पुस्तक ‘वीर बलभद्र कुँवर’मा आधारित ‘नालापानी’ बनिरहेको छ ।
‘नालापानी’मा देव गुरुङ्ग, देशभक्त खनाल, अर्जुनजंग शाही, मनोज शाक्य, विशाल पहारी, विजय विस्फोट, पुजना प्रधान, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, गीता अधिकारी, गीता विष्ट, प्रनिश शाक्य, महाविर विश्वकर्मा, सुस्मा भट्टराई लगायतका कलाकारहरूको अभिनय रहनेछ ।पद्मा कुमारी फिल्मस प्राली र गंगानारायण फिल्मस प्रालीको संयुक्त ब्यानरमा बन्ने यस चलचित्रमा मनोज शाक्य निर्माताको रूपमा रहेका छन् । चलचित्रको लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् । रोशन श्रेष्ठ चलचित्रका द्वन्द्व निर्देशक हुन् । बिपिन मल्लले सम्पादन तथा अच्युत गजुरेलले भिएफएक्स गर्ने यस चलचित्रलाई रामशरण उप्रेतीले छायाङ्कन गरिरहेका छन् ।