केही समयअघि गीत र ट्रेलर सार्वजनिक गरिएको ए सोल्टिनी फिल्मको प्रदर्शन मिति तय भएको छ । निर्देशक निमा लामा तामाङले आफ्नो फिल्म असार १५ गतेदेखि देशभरका हलमा एकसाथ प्रदर्शन हुने जानकारी दिए ।
दिलकुमार घलान तामाङले निर्माण गरेको फिल्ममा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ,ज्ञानबहादुर जिम्वा, अनिता गोले,गङ्गा रानामगर, बिबि रानामगर, सम्झना श्रेष्ठ, शेरबहादुर थिङलगायतका कलाकारले अभिनय गरेका छन् ।
जिम्बा फिल्मस् प्रोडक्शनको ब्यानरमा पूर्ण तामाङ प्रस्तुतकर्ता रहेको ए सोल्टिनीको वितरण आर आर फिल्मले गर्दैछ । तामाङ भाषाका भण्डै एक दर्जन फिल्म निर्देशन गरिसकेका निर्देशक निमाको ए सोल्टिनी पहिलो नेपाली फिल्म हो । उनले ए सोल्टिनीपछि दोषी को र परदेशले लुटेको सपना नामक नेपाली फिल्म निर्देशन गरेका छन् । फिल्म निकै रमाइलो बनेकाले दर्शकले मन पराउने विश्वास निर्माता दिलकुमारको छ ।
काठमाडौँ उपत्यका वरिपरि खिचिएको फिल्ममा सोल्टिनीको माया पाउन सोल्टाहरुले गर्ने सङ्घर्ष र तडप प्रस्तुत गरिएको बताइन्छ । कमेडी, लभ, एक्शन तथा सेन्टिमेन्ट, सबै कुराले आफ्नो फिल्म भरिपूर्ण भएको निर्देशन निमाको दाबी छ । विश्वास भण्डारीले छायाङ्कन तथा सम्पादन रहेको फिल्ममा सोमलाल बाइबा र विनय केटुको सङ्गीत छ । राज गोलेले द्धन्द्ध निर्देशन गरेको फिल्मको कोरियोग्राफी अभि लामाले गरेका छन् । अरू कुनै फिल्मले मिति नतोकेकाले ए सोल्टिनी असार १५ मा एकल प्रदर्शनमा आउने देखिन्छ ।