अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहेको चलचित्र रोजी विवादमा मुसिएको । आधा भन्दा बढी छायाङ्कन भइसकेको चलचित्रको बिहिबारबाट छायाङ्कन स्थगित गरिएको हो । केही वर्ष अघि ललितपुर निवासी रोजी महर्जनलाई उनको प्रेमीले हत्या गरेका थिए । छायाङ्कन भइरहेको चलचित्र रोजीमा रोजी महर्जनको हत्याकाण्ड समावेश गरिएको भन्ने समाचार बाहिरिए सँगै रोजीको परिवारले आपत्ति जनाएका थिए ।
यही बिषयालाई लिएर बिहीबार रोजी महर्जनको परिवार र चलचित्र युनिटसहित चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल वार्तामा बसेका थिए । तर, दुवै पक्ष सहमतिमा पुग्न नसकेपछि बोर्डकी अध्यक्ष पौडेलले आउँदो बुधवारसम्म चलचित्रको छायाङ्कन स्थगित गर्न आदेश दिएकी छिन् । चलचित्रलाई निरक पाैडेलले निर्देशन गरिरहेका छन् भने यसमा प्रदिपकाे साथमा परमिता राणा र मिरुना मगरकाे मुख्य भूमिका रहेकाे छ ।