चलचित्र ऋतुबाट कलाकारिता यात्रा सुरु गरेकी अभिनेत्री हुन् मलिना जोशी । सन् २०११ मा मिस नेपालको उपाधि जितेसँगै सिने नगरीमा उनको यात्रा सुरु भएको हो । हाल सम्म उनले आधा दर्जन बढी चलचित्रमा अभिनय गरिसकेकी छिन् । तर विडम्बना उनी अभिनीत कुनै पनि चलचित्र सफल हुन सकेको छैन । उनलाई पछिल्लो समय फ्लप अभिनेत्रीको रूपमा पनि लिइने गरिन्छ । लगातार फ्लप चलचित्र भए पनि उनको हात भने खाली छैन । एक पछि अर्को चलचित्रमा उनी अनुबन्धित भइरहेकी छिन् भने यो साताबाट उनी अभिनीत नयाँ चलचित्र ‘तिमि हुन्छौ जहाँ जहाँ’ रिलिज हुदैँछ । यदि यो चलचित्र सफल भएको खण्डमा मलिनाको पहिलो हिट चलचित्र  हुने छ ।

चलचित्र सफल हुनेमा मलिना भने आशावादी रहेको बताउँछिन् ।' काम मैले एक्लैले मात्र गर्ने होइन । हामी सबै टिमको मेहनत हुन्छ । तिमी हुन्छौ जहाँ जहाँ केही फरक छ । यस बिचमा ठुला ब्यानरको चलचित्रहरू पनि हलमा छन् । सोही कारण केही डर लागेको छ ।' उनी भन्छिन् । मलिनाजस्तै हिट चलचित्रको प्यास मेट्ने दाउमा छन् नायक मनिष सुन्दर श्रेष्ठ । चलचित्र रानीबाट सिनेमा क्षेत्रमा डेव्यु गरेका मनिषको पहिलो चलचित्र फ्लप भइदियो  । उनी भन्छन् ' पहिलो चलचित्रमा मेरो धेरै कमी कमजोरी भएको थियो । जसलाई मैले दोस्रो चलचित्रमा सुर्धाने मौका पाएको छु । यो चलचित्रबाट मेरो करियरलाई फाइदा पुग्ने आस बोकेको छु ।' उनी भन्छन् । यसरी हेर्ने हो भने मलिना र मनिष दुवैको करियरमा हिट चलचित्रको खडेरी लागेको छ । के  ‘तिमि हुन्छौ जहाँ जहाँ’ले उनीहरूको हिटको तिर्खा मेट्न सक्ला । त्यो भने चलचित्र रिलिज भएपछि पक्कै थाहा हुनेछ ।