विगत केही दिन देखि अभिनेता प्रदीप खड्का अभिनीत रोजीको छायाङ्कन स्थगित भएको छ । करिब ७ वर्ष अघि भएको रोजी महर्जनको हत्याकाण्डको विषयलाई लिएर चलचित्र निर्माण गरिएको भन्दै रोजी परिवारले चलचित्र छायाङ्कन अवरुद्ध पारेका थिए । बुधवार चलचित्र रोजीको निर्माण टिम र रोजीको परिवार साथै ज्याँपु समुदायबिच भएको वार्ता यस पटक पनि निस्र्कषमा पुग्न सकेन ।

चलचित्र विकास बोर्डमा भएको वार्तामा रोजीका परिवारले चलचित्रको नाम रोजी नै परिवर्तन गर्नु पर्ने माग राखेका छन् । केही दिन अघि निर्माता तथा निर्देशक निरक पौडेलले रोजीको परिवारलाई चलचित्रको छायाङ्कन स्थगित हुँदा लाखौँको नोक्सानी हुने बताएका थिए । रोजीको परिवारले एक साताको समय दिँदै बुधवार बैठक राखेका थिए । चलचित्रको नाम परिवर्तन गरेर छायाङ्कन सुचारु गर्न रोजी परिवारले जोड दिएको छ । रोजी निर्माण टिमले रोजी परिवार र ज्यापू समाजका प्रतिनिधिहरूलाई चलचित्रको कथा सुनाउँदै एक महिना पश्चात् सम्पादनमा चलचित्र हेराउने कुरामा वार्ता सकिएको हो । गोपिकृष्ण मुभिजको ब्यानरबाट निर्माण भएको चलचित्रमा प्रदीपको साथमा परमिता राणा र मिरुना मगरको मुख्य भूमिका रहेको छ ।