अभिनेता अनुपबिक्रम शाहीको मुख्य भूमिकामा चलचित्र ‘पुरानो बुलेट’ बन्ने भएको छ । क्रेजी इन्टरटेन्मेन्टको ब्यानरबाट निर्माण हुन लागेको चलचित्रको बिहीबार राजधानीमा एक कार्यक्रम बिच औपचारिक निर्माण घोषणा गरिएको थियो । चलचित्रमा अनुपले नायिकाद्धय वर्षा सिवाकोटी र माला लिम्बुसँग रोमान्स गर्ने भएका छन् । चलचित्रलाई भीषण राईले निर्देशन गर्दै छन् । उनको यो डेव्यु निर्देशन चलचित्र हो । चलचित्रमा अशोक कुमार राई, दीपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राई निर्माताको रूपमा रहेका छन् भने सन्तोष राई कार्यकारी निर्माता हुन् । यो चलचित्रका कथा तथा पटकथा निर्देशन भीषण र निर्माता सन्तोष राईको रहने निर्माण पक्षले जनाएको छ । चलचित्रमा अनुप, वर्षा र मालाको साथमा कविता आले, शिव मुखिया, कृष्ण भक्त महर्जन, शिरोमणी दवाडी, दिवज राई लगायतका कलाकारको अभिनय रहने छ । यही असार १५ गतेबाट छायाङ्कन सुरु हुने चलचित्रको छायाङ्कन पक्ष हरि घलेले समालेका छन् भने उत्तम जङ्ग लिम्बु र जयन जे. वाइवाकोे सङ्गीत, राजेशपायल राई, मेलिना राई, जयन जे. बाइबा र उत्तम जङ्ग लिम्बुको गायन रहनेछ । चलचित्रका नृत्य निर्देशन प्रशान्त तामाङले गर्नेछन् । पूर्वाञ्चलका विभिन्न जिल्लाहरूमा छायाङ्कन हुने चलचित्र ‘पुरानो बुलेट’ आउँदो मङ्सिरमा रिलिज हुनसक्ने निर्माण पक्षले बताएको छ ।