पछिल्लो समयका व्यस्त तथा चर्चित अभिनेता हुन् अनमोल केसी । उनी अभिनीत गत वर्ष कृ प्रदर्शनमा आएको थियो । हाल चलचित्र क्याप्टेनको छायाङ्कनमा व्यस्त अनमोल नेपालमा सबैभन्दा बढी पारिश्रमिक लिने कलाकार भित्र पर्छन् । तर अनमोलले बिना पारिश्रमिक स्टेजमा उर्तिने भएका छन् । भदौमा आयोजना हुन लागेको ’अनमोल साँझ २०१८’का लागी अनमोलले कुनै पारिश्रमिक नलिएको बताएका छन् ।शनिवार काठमाडौँको पाँच तारे होटल अन्नपूर्णमा आयोजना भएको पत्रकार सम्मेनलमा आयोजक मोनिका इन्टरनेशनल ग्रूपले ’अनमोल साँझ २०१८’बारे जानकारी गराएको थियो। अनमोलले उक्त कार्यक्रम बिशुद्ध सामाजिक सेवा भएको कारण आफूले पारिश्रमिक नलिएको बताएका थिए । उनले भने, ’अहिलेसम्म मैले सामाजिक कार्यका लागि भनेर कुनै काम गरेको थिइन । यो मेरो लागि ठुलो अवसर हो । साथै, प्रशंसकसँग प्रत्यक्ष रूपमा भेट गर्न मलाई यो कार्यक्रमले ठुलो सहयोग गर्नेछ ।’ अनमोलले पहिलो पटक आफ्ना प्रशंसकसँग प्रत्यक्ष भेट्ने अवसर पाउन लागेकोमा खुसी व्यक्त गरे । 


भाद्र ९ गतेबाट सुरु हुने कार्यक्रमले आन्तरिक पर्यटन प्रवर्द्धन, कला संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण भूमिका निभाउने तथा नेत्रहिन महिला सङ्घ नेपाललाई सहयोग गर्ने उद्देश्य लिएको छ । चारवटै कार्यक्रममा अनमोलले नृत्य तथा गायन प्रस्तुति दिनेछन् । भाद्र ९ गते बुटवल, भाद्र १६ गते पोखरा, भाद्र २३ गते चितवन र बिर्तामोडमा भाद्र २७ गते उक्त कार्यक्रम हुने आयोजक संस्था मोनिका इन्टरनेशनल ग्रूपका अध्यक्ष कमल जिसीले जानकारी दिए । अनमोल केसी हेलिकप्टरमार्फत् काठमाडौँबाट सिधै कार्यक्रम स्थलमा ओर्लिने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
 

बिना पारिश्रमिक चार सहरमा लाईभ प्रस्तुति दिँदै अनमोल

 यस कन्सर्टका लागि अहिलेसम्म अनमोलसँग स्टेज शेयर अभिनेत्री प्रियंका कार्कीले गर्ने तय भएको छ । अन्य कलाकारको टुङ्गो चाँडै लाग्ने आयोजक संस्थाको भनाई छ । चारवटै सहरमा मनोरञ्जनात्मक कार्यक्रमको साथमा पर्यटन प्रबर्द्धन हुने, कला संस्कृति संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने कार्यक्रमहरू तथा शिक्षा मूलक सडक नाटक तथआ स्थानीय नयाँ प्रतिभालाई प्रोत्साहन समेत गरिने आयोजक संस्थाका अध्यक्ष कमल जिसीले जानकारी दिए ।