केही समयअघि एक कार्यक्रम बिच निर्माण घोषणा गरिएको चलचित्र प्रसादको अफिसियल छायाङ्कन सुरु भएको छ । सोमबार राजधानीमा चलचित्रको शुभ मुर्हत सम्पन्न भएको हो । मुर्हतमा चलचित्रका मुख्य कलाकारहरू बिपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतले चलचित्रका संवाद बोल्दै सट दिएका थिए ।

दिनेश राउतको निर्देशनमा बन्न लागेको चलचित्रमा विपिन र नम्रता निसन्तान श्रीमान् श्रीमतीको रूपमा देखिन्दैछन् । चलचित्रमा निर्देशक तथा अभिनेता निश्चल बस्नेतको भूमिका के रहनेछ त्यो भने खुलाइएको छैन । चलचित्रको छायाङ्कन सुरु भएसँगै निकै नर्भस् भएको अभिनेत्री नम्रता श्रेष्ठ बताउँछिन् । ' मलाई हरेक चलचित्रको छायाङ्कन सुरु भएसँगै एकप्रकारको डर लाग्छ । अझ विपिन र निश्चलसँग पहिलो पटक यसरी काम गर्दैछु । डरको साथै उत्साहित छु ।' उनी भन्छिन्। चलचित्रका कथा मन परेको कारण नै आफूले साइन गरेको निश्चल बताउँछन् । चलचित्र प्रसादलाई  सुशील पौडेलले लेखेका हुन् । चलचित्रलाई सुवास थापाले निर्माण गरेका हुन् ।