नायक आकाश श्रेष्ठ र नायिका आँचल शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘ब्ल्याक’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रम बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । आश्मा पाण्डेको निर्माणमा बनेको चलचित्रको ट्रेलरमा प्रेम, बिछोड, रोमान्ससाथै एक्सनलाई समेटिएको छ ।

आकाश यस चलचित्रमा एक्सनसाथै लभर ब्वाईको भूमिकामा देखिएका छन् । त्यस्तै नायिका आँचल शर्मा भने बोल्ड भूमिकामा देखिएकी छिन । चलचित्रमा आफ्नो पात्र अन्य चलचित्रको भन्दा फरक रहेको र यस भूमिकाको लागी आफूले स्वर समेत परिवर्तन गरेको बताइन् । चलचित्र ब्ल्याकलाई प्रदिप श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रले दर्शकको मन छुनेमा ढुक्क रहेको उनको भनाई रहेको छ । यस चलचित्रमा नायक आयुष रिजाल भिलेनको रूपमा प्रस्तुत भएका छन् । भदौ एक गतेबाट प्रदर्शन हुने चलचित्रको यस अघि एक गीत सार्वजनिक भइसकेको छ । ‘पल पल’ बोलको उक्त गीतले युट्युबमा राम्रो प्रतिक्रिया पाएको छ । धेरै भीएफएक्स प्रयोग गरिएको चलचित्रमा करिब ९ महिना भीएफएक्सको लागी लागेको निर्माण पक्षले बताएको छ ।