पछिल्लो समयकी व्यस्त तथा चर्चित नायिका साम्राज्ञी शाह अभिनीत नयाँ चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’को टिजर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीको कुमारी हलमा आयोजना गरिएको कार्यक्रममा चलचित्रको टिजर सार्वजनिक गरिएको थियो । लन्डनमा सम्पूर्ण छायाङ्कन गरिएको चलचित्रलाई चर्चित कोरियोग्राफर रेनशा बान्तवा राईले निर्देशन गरेकी हुन् ।
उनको यो डेव्यु निर्देशकिय चलचित्र हो भने यसै चलचित्रबाट नव–नायक धिरज मगरपनि डेव्यु गर्दै छन् । युके निवासी धिरज युट्युवर हुन् । युवा पुस्तामा उनको राम्रो फ्यान फलोइङ रहेको छ । चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’को टिजरमा साम्राज्ञी र धिरजको जोडी जमेको छ । कोरियोग्राफीमा नाम कमाएकी रेनशा पहिलो निर्देशकिय चलचित्रबाट दर्शकको साथ पाउनेमा आशावादी रहेको बताइन् ।लभ स्टोरी चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’लाई आइकोर फिल्मस निर्माण गरेको हो । चलचित्रमा लगानी प्रभु शम्शेर जवरा र प्रज्जवल शम्शेरको रहेको छ । निर्माण पक्षको अनुसार चलचित्र आँउदो असोज ५ गतेबाट प्रदर्शनमा आउँने भएको छ ।