पछिल्लो समयकी व्यस्त नायिका हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । नायक अनमोल केसीसँग चलचित्र ड्रिम्समा काम गरेर चर्चामा आएकी साम्राज्ञीको युवापुस्तामा लोभलाग्दो फ्यान फलोइङ रहेको छ ।साम्राज्ञी धेरै पारिश्रमिक लिने नायिकाको रूपमा पनि अगाडी छिन् । गत वर्ष उनी अभिनीत ‘ए मेरो हजुर २’ र ‘तिमीसँग’ प्रदर्शनमा आए । दुवै चलचित्र समेत भए । यो वर्ष साम्राज्ञी अभिनीत दुई चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ र ‘कायरा’ प्रदर्शनमा आउँदछन् ।
दुवै चलचित्रको केही दिन अघि ट्रेलर र टिजर सार्वजनिक भइसकेका छन् । कायरामा साम्राज्ञी अभिनेता आर्यन सिग्देलको अपोजिट देखिएकी छिन् । कायराको ट्रेलरमा आर्यन र साम्राज्ञीको जोडी निकै सुहाएको छ । लभ स्टोरीको लागी आर्यन अब्बल मानिन्छन् । उनी अभिनीत प्राय लभस्टोरी चलचित्रहरू हिट छन् । पछिल्लो समय आर्यनका खासै चलचित्रहरू प्रदर्शनमा आएका छैन, आएका चलचित्रहरू पनि सफल भएका छैनन् । दर्शकको लागी साम्राज्ञी र आर्यनको जोडी नौलो लाग्न सक्छ । कायराको ट्रेलर सार्वजनिक पश्चात् दर्शकको लागी यो जोडी अझै प्रतिक्षित बनेको छ ।
त्यस्तै कायरा रिलिज पश्चात् करिब एक महिनाको अन्तरमा साम्राज्ञीको अर्को प्रतिक्षित चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ प्रदर्शनमा आउँदै छ । चलचित्रलाई चर्चित कोरियोग्राफर रेनशा बान्तवा राईले निर्देशन गरेकी हुन् । यो चलचित्रमा नव–नायक धिरज मगरले डेव्यु गर्दैछन् । धिरज युके निवासी हुन् । उनी त्यहाँका चर्चित युट्युबर भित्र पर्छन् । धिरजको आफ्नै फ्यान फलोइङ रहेको छ ।
गुड लुकिङ हिरोमा धिरज पर्ने सक्छन् , सोही कारण होला रेशना धिरजलाई अपकमिङ राइजिङ स्टार बताउँछिन् । यिनै धिरज र साम्राज्ञी अभिनीत ‘इन्टु मिन्टु लन्डनमा’को टिजर एक साता अघि सार्वजनिक भइसकेको छ । टिजरमा यी दुईको जोडी निकै सुन्दर देखिएको छ ।