अभिनेता बिनय श्रेष्ठ र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘रोमियो एण्ड मुना’को नयाँ गीत सार्वजनिक भएको छ । स्याड भर्सनको सार्वजनिक गीतमा चलचित्रका पात्र रोमियो  र मुनाको बिछोडलाई देखाइएको छ । गीतमा धरानबाट रोमियो काठमाडौँतर्फ हानिँदै छन् भने मुना आफ्नो गाउँ फिरेकी छन् । सार्वजनिक ’साँझ पर्‍यो’ बोलको उक्त गीतमा भारतीय गायक गौरव डगाओंकरको स्वर रहेको छ । गीतमा कालीप्रसाद बास्कोटाको सङ्गीत रहेको छ भने काली र एकतारे मिलेर शब्द लेखेका हुन् । 

चलचित्र रोमियो एण्ड मुनालाई नरेश कुमार केसीले निर्देशन गरेका हुन् । चलचित्रमा विनय र सृष्टिको अलावा सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्जवल सुजल गिरी, मेनुका प्रधान लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई प्रसन्न गोपाली, राजी श्रेष्ठ, राम शर्मा र कविन शाक्यले संयुक्तरुपमा मिलेर निर्माण गरेका हुन् । चलचित्र यही आउँदो साउन ११ गतेबाट प्रदर्शनमा आउँदै छ ।