चलचित्र नगरीमा अनुभव रेग्मी नौलो नाम होइन । बाल कलाकारको रूपमा अनुभव निकै चर्चित छन् । ‘नाइ न भन्नु ल २’मा उनले गरेको अभिनयले धेरैको मन जितेको थियो । विभिन्न चलचित्रमा बाल कलाकारको रूपमा देखिने अनुभवको अभिनयले दर्शकको मन जितेको छ । यिनै अनुभवको नयाँ चलचित्र ‘नाई न भन्नु ल ५’को यति बेला ट्रेलर सार्वजनिक भइसकेको छ । यो चलचित्रमा अनुभवको अपोजिट स्याड्रिना शर्मा देखिन्दै छिन् ।
चलचित्रको ट्रेलरमा अनुभव र स्याड्रिनाको जोडीलाई तारिफ मिलेको छ । चलचित्रमा सुहाउँदो जोडीको रूपमा देखिएका यी दुई भने रियलमा एकअर्कासँग खासै बोल्दैनन् । अनुभवलाई स्याड्रिनाको रिसाउने बानी मन पर्दैन रे । ‘उ सानो कुरामा चाँडै रिसाउँछ ’ अनुभव स्याड्रिनालाई देखाउँदै भन्छन् । त्यस्तै स्याड्रिना भने अनुभव र अभिनेत्री प्रियंका कार्कीबाट आफूले धेरै साथ र सहयोग पाएको कृतज्ञ व्यस्त गर्छिन् । ‘सुटिङको क्रममा मैले अनुभवबाट धेरै कुरा सिक्ने मौका पाए । फेरी प्रियंका दिले पनि मलाई सहयोग गर्नु भयो ।’ एकअर्कासँग किन बोल्नु हुन्न भन्ने प्रश्नमा दुवै आनाकानी गर्दै भन्छन् ‘फोनमा खासै कुरा हुन्न । सामाजिक सञ्जाल चलाउदेनौ । तर भेटेको बेला बोलिरहेको हुन्छौ । ’