यही आउँदो साउन ११ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रोमियो एण्ड मुना’ले चलचित्रको प्रमोसन व्यापक बनाइरहेको छ । चलचित्र प्रमोसन गर्नेक्रममा शनिवार चलचित्रका निर्माण टिम राजधानी नजिक रहेको पर्यटकीय स्थल चन्द्रागिरी हिल्स पुगेको थियो । रोमियो उर्फ विनय श्रेष्ठ र मुना उर्फ सृष्टि श्रेष्ठले शनिवार चन्द्रागिरी पुगेर चलचित्रको प्रमोसन गरेका हुन् ।
विनय र सृष्टिको साथमा निर्देशक नरेशकुमार केसी र निर्माता प्रसन्न गोपालीलाई त्यहाँका मेयर घनश्याम गिरीले स्वागत गरे । मेयर गिरीले चन्द्रागिरी नेपाली चलचित्रको प्रचार गर्ने गतिलो स्थल बन्न सक्ने बताए । उनले चाँडै नै चन्द्रागिरीमा चलचित्र हल बनाइने समेत आश्वासन दिए ।
रोमियो एण्ड मुना टिम केबुलकार चढेर भालेश्वर मन्दिरसम्म पुगेको थियो । त्यहाँ पुगेर टिमले छोटो प्रेसमिट गरेको थियो । प्रेसमिटमा टिमले साउन ११ गते रोमियो एण्ड मुना हेर्न आग्रह गरे । प्रदर्शन मिति नजिकिएसँगै टिमले चलचित्रको प्रचारलाई तीव्रता दिने योजना बनाएको निर्माता गोपाली बताए ।