नायिका अलिशा शर्माको हट नृत्यले नारायणगढ तातेको छ । शनिवार साँझ नारायणी किनारमा भएको भव्य कन्सर्टमा नारायणगढवासी हजारौँ दर्शकलाई अलिशाको नृत्यले गर्मी बनाएको थियो ।चलचित्र प्रचारको लागि देश दौडाहामा निस्किएको ’चि मुसी चि’ टीमले पूर्वी नेपालका केहि शहरहरुमा कन्सर्ट सम्पन्न गरी शनिवार चितवन पुगेको थियो । चितवनको कन्सर्टमा मूख्य आकर्षण अलिशाको नृत्य थियो । चलचित्रमा समावेश चार गीतमा सुनिल क्षेत्री, अलिशा शर्मा र सुसान्त कार्कीको बेजोड नृत्य रहेको थियो भने चलचित्रमा समावेश नभएका अन्य केहि गीतमा सुनिल र अलिशाले तहल्का मच्चाएका थिए । अलिशाको गृहनगर चितवनमा भएको उक्त कन्सर्टमा उनले आफुलाई हट अवतारमा प्रस्तुत गरेकी थिइन् ।
चलचित्र टीमले देशैभर प्रमोशनल कन्सर्ट गरिरहेको निर्देशक दिनेश श्रेष्ठले बताए । विर्तामोड, धरान, लालबन्दी, हरिवन, हेटौँडा, नारायणगढ सहित बुटवल, भैरहवा, पोखरा, दमौली, काठमाण्डौ लगायतका शहरहरुमा चलचित्रले लगातार कन्सर्ट आयोजना गर्ने बताईएको छ ।
यो चलचित्र श्रावण ११ गते देशैभर रिलीज हुँदैछ । अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा, शसांक बस्याललगायतका कलाकारहरुको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको चलचित्रको सम्पादक भूपेन्द्र अधिकारी हुन् ।