चलचित्र ‘चि मुसी चि’को नयाँ गीत सार्वजनिक भएको छ । यसअघि दुई गीत र ट्रेलर सार्वजनिक भइसकेको चलचित्रको नयाँ गीत सार्वजनिक भएको हो । सार्वजनिक ‘आऊ आज मायाको’ बोलको गीतमा अलमोडा उप्रेतीकाे स्वर रहेको छ भने सुरज अधिकारीको शब्द तथा सङ्गीत रहेको छ । गीतमा मायामा क्वाईन टस गर्ने कुरा गरिएको छ । गीतमा नायक सुनिल क्षेत्री र नायिका अलिशा शर्माले नृत्य गरेका छन् भने कोरियोग्राफी सुनिल आफैले गरेका छन् ।
यो चलचित्र श्रावण ११ गते रिलिज हुँदैछ । यो चलचित्रबाट नै नायक सुनिल र नायिका अलिशाले डेब्यू गर्दै छन् । यो रिल जोडीलाई नेपाली चलचित्रमा जमिरहन ’चि मुसी चि’ले मद्दत गर्ने निर्माण पक्षले विश्वास लिएको छ । सुनिल र अलिशा दुवै नृत्य क्षेत्रमा चर्चित छन् ।
अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।
सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरूको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । वासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले गरेका छन् ।यसअघि सार्वजनिक शीर्ष गीतले यूट्युबमा मिलियन बढी भ्यूज पाइसकेको छ ।